२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

भूकम्प र नाकाबन्दी झै कोरोनाबाट सिकेको कुरा भोलिका दिनमा भुल्नेछौं ?

अबको केही महिनापछि वा बर्षपछि,

–हामी अहिले जसरी सरसफाईमा ध्यान दिन्छौं होला ? जस्तो कि, अहिले साबुन पानीले हात धोइरहेका छौं ।

–हामी अहिले जसरी शारीरिक दूरी कायम राखेर काम गर्छौं होला ? जस्तो कि, अहिले भिडभाडमा एकअर्काबीच केही दूरी कायम राखिन्छ ।

–हामी अहिले जसरी पोषिलो खानपान र योग–व्यायामलाई आफ्नो हिस्सा बनाउँछौं होला ? जस्तो कि, अहिले रोग प्रतिरोधात्मक क्षमता बढाउन यस किसिमको आनीबानी अपनाएका छौं ।

–हामी अहिले जसरी मास्क, सेनिटाइजरको प्रयोग अर्थात शारीरिक स्वास्थ्यका खातिर आवश्यक विधीहरु अपनाउँछौं होला ?

–हामी अहिले जसरी जंकफूड, बजारका खानेकुरालाई निषेध गर्दै जान्छौं होला ? जस्तो कि, अहिले धेरैले आफ्नै खेती, करेसाबारी, कौसीमा खेतीपाती सुरु गरेका छन् ।

–हामी अहिले जसरी पर्यवरण वा प्रकृतिप्रति सजग र सर्तक हुन्छौं होला ? जसरी अहिले कृतिम वा यान्त्रिक गतिविधि रोकेर प्रकृतिप्रति नजिक भइरहेका छौं ।

यी प्रश्नहरुको जवाफ अहिले नै तय गर्न सकिदैन । किनभने आजको दिनमा भोगेका, झेलेका, अनुभव गरेका कुराबाट पाठ सिकेर भोलिका दिनमा त्यसको उपयोग गर्ने प्रवृत्ति हामीसँग छैन । हाम्रो विगतले यसै भन्छ । हिजो हामीले लोडसेडिङ झेल्यौं । विनासकारी भूकम्प भोग्यौं । नाकाबन्दी थेग्यौं ।

यी आपत–विपतले हामीलाई अत्याएको थियो । तर्साएको थियो । झस्काएको थियो । साथसाथै सर्तक र सचेत पनि गराएको थियो ।

लोडसेडिङलाई भुल्यौं

जस्तो, लोडसेडिङको बखत हामी धेरैजसो समय अध्याँरोमा रात काट्थ्यौं । यसबाट हामीले धेरै सास्ती खेप्यौं । आक्कलझुक्कल बत्ती आउँदा सबै काम सक्नुपर्ने । जस्तो कि, भात पकाउने, खाने, कम्प्युटरमा काम गर्ने इत्यादि ।

यसले सिकाएको पाठ:

१. एउटा निश्चित समय–सीमा वा तालिकाभित्र रहेर आफ्नो काम गर्ने ।

२. काममा ढिलाई नगर्ने । अनुकुल समयको भरपुर उपयोग गर्ने ।

३. अनावश्यक विद्युतिय उपकरण प्रयोग नगर्ने । विद्युत उर्जाको खपत जथाभावी नगर्ने ।

बिर्सिएको कुरा,

अहिले हामी जथाभावी विद्युतिय उपकरणको प्रयोग गरिरहेका छौं । अनावश्यक विद्युत खपत गरिरहेका छौं । काम गर्ने तालिका अनियमित छ । कुनै निश्चित तालिका वा समय–सीमाभित्र काम गर्ने बानी हराइसकेको छ ।

भूकम्प भुल्यौं

२०७२ साल वैशाखमा हामीले विनासकाली भूकम्पको सामना ग¥यौं । यसले अकल्पनिय रुपमा जनधनको क्षति ग¥यो । घर भवन भत्किए, प्राचिन संरचनाहरु ध्वस्त भए । भूकम्पले सबैलाई सडकमा ल्याइदियो । घरभित्र बस्दा असुरक्षित महसुष गर्दै मानिसहरु सडक, चौरमा निस्किए । त्यही रात काटे । धनी–गरिब, साना–ठूला सबै एकसमान देखिए ।

यसले सिकाएको पाठ:

१. भूकम्पले भौतिक र भावनात्मक पाठ सिकाइदियो । जस्तो कि, यसले एकातिर भूकम्प प्रतिरोधी घर–भवन निर्माण गर्नुपर्छ । वा भूकम्प आफैमा विध्वांसकारी हुँदैन । बरु हामीले बनाएका संरचनाहरु धराप हुनसक्छ, जसको कारण हामीले ज्यान गुमाउने जोखिम रहन्छ ।

२. आपत–विपतको क्षणमा एकअर्कासँग मिलेर, सहयोग आदनप्रदान गरेर बाँच्नुपर्छ । समाजमा सौहाद्र्धपूर्ण सम्बन्ध स्थापित गरेर बाँच्नुपर्छ ।

३. शहरी क्षेत्रमा खुला स्थानहरु आवश्यक हुन्छ, जहाँ यस्तै विपतको बेला भागेर बस्न सकिन्छ । सुरक्षित रहन सकिन्छ ।

४. कुनैपनि बेला प्रकृतिक दूर्घटना हुनसक्छ, त्यसैले सधै सजग र सर्तक अवस्थमा रहनुपर्छ ।

बिर्सिएको कुरा

विनासकारी भूकम्पको त्रासदी हराउँदै जादा हामीले भूकम्पका बेला अनुभव र अनुभूत गरेका धेरै कुरा बिर्सियौं । आज घर–भवन निर्माणमा हामीले कति सावधानी अपनाएका छौं ? हिजोको सामाजिक सद्भाव आज कायम छ÷छैन ? संभावित प्राकृतिक दुर्घटनाप्रति हामी आज पनि उत्तिकै सचेत र सर्तक छौं ? जवाफ नकारात्मक आउन सक्छ ।

नाकाबन्दी भुल्यौं

भारतले एकपक्षिय रुपमा लगाएको नाकाबन्दीले हाम्रो दैनिकी नै अस्तव्यस्त भयो । इन्धन अभाव हुँदा यातायातका साधन ठप्प भए । धेरैको चुल्हो निभ्यो । ग्यासको चरम अभाव भयो । भारतबाट वा भारतको बाटो हुँदै आयत हुने खाद्यन्नको संकट भयो । दैनिक जीवनयापन नै कष्टकर बन्यो ।

सिकाएको पाठ

१. हामी आत्मनिर्भर बन्नैपर्छ । अरुप्रति निर्भर भइरहँदा यस्ता संकटको सामना गरिरहनुपर्ने हुनसक्छ ।

२. आफ्नै उत्पादनमा जोड दिनुपर्छ । दैनिक उपभोग्य वस्तु आफैले उत्पादन गर्नुपर्नेछ । आफ्नो श्रम, सीपको अधिकतम उपयोग गर्नुपर्नेछ ।

३. ग्यास, इन्धन जस्ता आयतित बस्तुहरुप्रति अति निर्भर हुनुहुँदैन । त्यसका विकल्पहरु सुरक्षित हुनुपर्छ । साथै हाम्रा परम्परागत कुराहरुलाई पनि व्यवस्थित र आधुनिक बनाउँदै लानुपर्नेछ ।

बिर्सिएको कुरा,

आज हाम्रो भान्सामा स्वदेशीभन्दा बढी आयतित चिजबिज छन् । भोलि बजार ठप्प भएमा वा नाकाबन्दी लागेमा फेरी हाम्रो भान्सा उजाड हुनेछ । आफ्नो उत्पादन, आफ्नो सीप र आफ्नो क्षमताको सदुपयोग गरेनौं ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।