२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

कालिकोट, जुम्ला र मुगु जिल्लाको भ्रमणको एक चिनारी

कर्णाली प्रदेशमा चुनौतिका साथसाथै, अथाह सम्भावनाहरु समेत रहेका छन् ।
कर्णाली प्रदेशको परिचय-
कर्णाली प्रदेशलाई भाषा, सभ्यता र संस्कृतिकारुपमा नेपालकै पुरानो थलो मानिन्छ । र्इतिहासको दृष्टिबाट हेर्दा यो प्रदेश खस साम्राज्यको विरासत नै हो भन्न सकिन्छ । भूगोलका दृष्टिले यो प्रदेशलाई कर्णाली नदी र यसका शाखाहरुको उपस्थितिले सिंचाई र जलविद्युतको भण्डारको रुपमा समेटेको छ यसमा रहेका मन्दिर, विहार, पत्थरनाउली, ज्वाला र पञ्चकोशी धामहरु, मालिकाहरु, ऐतिहासिक गुम्बाहरु, किर्तिखम्ब र पञ्चदेवल, सिंजा र दुल्लु जस्ता गृष्मकालीन र शीतकालीन ऐतिहासिक डोवहरुले कर्णाली प्रदेशको सभ्यता र इतिहासको बैभवतालाई पुष्टि गर्दछन् ।
कर्णाली प्रदेशमा चुनौतिका साथसाथै, अथाह सम्भावनाहरु समेत रहेका छन् । कर्णाली प्रदेशसँग देशको कुल भू–भागको २०.५३ प्रतिशत भूभाग रहेको छ भने कर्णाली प्रदेशको जनसंख्या करिब १७ लाख पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार प्रदेशको कूल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ पुगेको हो । जसमा आठ लाख ६४ हजार ६ सय ५१ जना महिला छन् भने पुरुषको जनसंख्या आठ लाख २३ हजार सात सय ६१ छ ।
उमेरगत हिसाबले हेर्दा प्रदेशमा सबैभन्दा धेरै जनसंख्या २० वर्षमूनिको रहेको छ । जसमा सात लाख ५५ हजार ६ सय ३५ जना छन् भने २० देखि ४० वर्ष उमेर समूहको जनसंख्या पाँच लाख १५ हजार सात सय १२ रहेको छ । त्यसैगरी ४० देखि ७० वर्षसम्मको तीन लाख ६५ हजार तीन सय ५० तथा ७० भन्दा माथिको जनसंख्या ५१ हजार सात सय १५ छ ।
देशका ७७ जिल्लामध्ये सबैभन्दा कम जनसंख्या भएका जिल्लामा कर्णालीका दुई जिल्ला पर्दछन् । डोल्पा तेस्रो र हुम्ला पाँचौ स्थानमा छन् । डोल्पामा ४२ हजार सात सय ७४ जना छन् भने हुल्लामा ५५ हजार तीन सय ९४ जनसंख्या रहेको छ । यसैगरी सबैभन्दा कम जनसंख्या भएका देशभरका पाँच नगरपालिकामध्ये दुई वटा कर्णालीका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकामा सबैभन्दा कम दुई हजार तीन सय २७ जना छन् भने डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकामा दुई हजार ६ सय २२ जना मात्रै छन् ।
भौगोलिक रूपमा सबैभन्दा ठूलो रहेको कर्णाली जनघनत्वको हिसाबले भने सबैभन्दा कम भएको क्षेत्र हो । यहाँको जनघनत्व सात प्रदेशमध्ये सबैभन्दा कम छ । अर्थात् कर्णाली प्रदेशभित्र प्रति वर्गकिलोमिटरमा ६० जनाको बसोबास रहेको छ । जनघनत्व कम भएका जिल्लामा डोल्पा, हुम्ला र मुगु पर्दछन् । उक्त जिल्लाहरूको जनघनत्व क्रमशः ५, १० र १८ छ ।
जनसंख्या वृद्धि भइरहँदा परिवारमा अक्सर बसोबास गर्ने सदस्य संख्या भने घटेको छ । २०६८ को जनगणनाअनुसार कर्णाली प्रदेशमा परिवार सदस्य संख्या ५.२६ जना थियो । दश वर्षमा उक्त संख्यामा कमी आएको देखिन्छ । यो जनगणनाअनुसार औसत परिवार सदस्य संख्या ४.६१ जना रहेको छ ।
परिवारको व्यवहार चलाउने र निर्णय प्रक्रियामा मुख्य भूमिकाका आधारमा समेत तथ्याङ्क संकलन गरिएको छ । जसअनुसार कर्णालीमा परिवारमूलीमा पुरुषकै संख्या बढी छ । दुई लाख ४८ हजार सात सय ८३ परिवारको प्रमुख भूमिकामा पुरुष छन् । यो प्रदेशको कूल परिवार संख्याको ६७.९३ प्रतिशत हो । महिला घरमूली भएको परिवार संख्या एक लाख १७ हजार चार सय ७२ छ । अर्थात् ३२.०७ प्रतिशत परिवारमा महिलाहरू प्रमुख भूमिकामा छन् । यो पुरुषको तुलनामा आधाभन्दा कम संख्या हो ।
ठूलो संख्या परदेशतिरै अक्सर विदेशमै बस्नेहरूको जनसंख्या पनि ठूलो देखिएको छ । कर्णालीका ९४ हजार तीन सय २० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो । जसमा ७७ हजार दुई सय ७८ जना पुरुष छन् भने १७ हजार ४२ जना महिला छन् ।
परदेशतिरै बसोबास गर्ने जनसंख्या पनि पछिल्लो दशकमा वृद्धि भएको छ । २०६८ मा ६७ हजार पाँच सय ८२ जना परिवारभन्दा बाहिर बसोबास गरेको तथ्याङ्क थियो भने दश वर्षमा उक्त संख्या २६ हजार सात सय ३८ ले बढेको छ ।
शैक्षिक तथ्याङ्क-
अन्य विभिन्न सूचकाङ्कमा पछि रहेको कर्णाली शैक्षिक तथ्याङ्कमा पनि कमजोर छ । यहाँको साक्षरता दर मधेश प्रदेशको भन्दा मात्रै माथि छ । कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत छ, मधेसको ६३.५ प्रतिशत रहेको छ । कर्णालीका दश जिल्लामध्ये पनि हुम्लाको साक्षरता दर सबैभन्दा कम अर्थात् ६३.८४ प्रतिशत छ ।
२) भ्रमणको उदेश्यः
देश भित्रकै अर्को प्रदेशको भुगोलको जानकारी र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पु(याउन भागेश्वर गाउँ पालिकामा कार्यरत कर्मचारी आफ्नो पकेटबाट प्रति व्यक्ति रु ८७२० रकम खर्च व्यहोरीने गरि पर्यटकीय स्थल राराताल,सिजा जुम्ला अवलोकन गरी गन्तव्य स्थलहरु सो वरपरको सम्पदाहरु, स्थानीय उत्पादन, स्थानीय सस्कृतिको जानकारी लिन अवसर प्राप्त हुनुका साथै नयाँ क्षेत्रको भ्रमण गर्दा आन्तरिक पर्यटन र स्थानीय होटल व्यवासायमा प्रवर्द्धनमा समेत मद्धत पुग्ने ।
३) भ्रमणमा सहभागी सख्या २४ जना ६महिला र १८ पुरुष
४) सवारी साधन सख्याः ३ वटा
५) भ्रमण गरेका प्रमुख स्थानहरुः राराताल,सिजा जुम्ला
६) मितिः २०८१ जेठ ९ गते देखि १३ गते सम्म
प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावनाहरु रहेता पनि ती स्रोतहरुको प्रभावकारी उपयोग हुन नसक्दा यो क्षेत्रको विकासको स्थिति न्यून हुन गएको छ । त्यसैले यहाँ अर्थतन्त्रका विभिन्न क्षेत्रको तीब्र विकास आवश्यक छ । यस प्रदेशमा करिव १८ हजार मेगावाट जलविद्युतको सम्भावना रहेको तथ्यांकले देखाए पनि केवल ३।७५ मेगावाट मात्र उत्पादन भएको अवस्था रहेको छ ।
नेपालको निरक्षरता दर घटेर करिव १० प्रतिशतको हाराहारी पुगेको समयमा कर्णालीमा रहेको यो निरक्षरताको अंश निकै ठूलो हो । गुणस्तरीय र प्राविधिक शैक्षिक संरचनाहरु निर्माण गर्ने उच्च संभावना रहेको प्रदेश हो । सार्वजनिक शिक्षा लगानी अनुरुप सुधार हुन अझै सकेको छैन । विद्यालय भर्नादरमा सुधार हुँदै गएतापनि बीचैमा पढाई छाड्ने प्रवृत्ति अझै उच्च नै रहेको छ । शिक्षाको अवस्थामा सुधार ल्याउन राज्यले जनसमुदायहरुको चेतना अभिवृद्धि गर्नु आवश्यक छ ।
कर्णाली प्रदेशको मानव विकास सुचकांक ०.४११ रहेको छ । नेपालका अन्य प्रदेशको तुलनामा यो सातौ (अन्तिम) नम्बरमा परेको छ । २०१८ मा नेपालको अनुमानित औषत प्रतिव्यक्ति आय १२ सय डलर रहेको अवस्थामा कर्णालीको प्रतिव्यक्ति आय भने ८०६ डलर अनुमान गरिएको छ । कर्णाली प्रदेशको आधा भन्दा बढी जनसंख्या ५१.२२ प्रतिशत बहुआयामिक गरिबीमा रहेका छन् भने निरपेक्ष गरिबको रेखामुनि रहेको जनसंख्या ३६.५० रहेको छ ।
प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावनाहरु रहेता पनि ती स्रोतहरुको प्रभावकारी उपयोग हुन नसक्दा यो क्षेत्रको विकासको स्थिति न्यून हुन गएको छ । त्यसैले यहाँ अर्थतन्त्रका विभिन्न क्षेत्रको तीब्र विकास आवश्यक छ । उच्च संभावनाका बावजुत कर्णाली प्रदेशमा ठूला र मझौला उद्योगधन्दा खुल्न सकेका छैनन् । सेवाक्षेत्र अल्पअविकसित अवस्थामै रहेको छ । संभावना हुँदाहुँदै पनि प्रशोधन उद्योगहरुको अभाव छ । जसले गर्दा धेरै संख्यामा रहेको प्रजातिका बहुमुल्य जडिबुटीहरु र रत्न पत्थरहरुको कच्चा पदार्थको भण्डार हुन सकेको छैन र त्यस्ता कच्चा पदार्थलाई भण्डार गरी प्रशोधन गर्ने तथा निर्यात बढाउन सक्ने अवस्थालाई बलियो बनाउन सकिएको देखिदैन । कच्चा पदार्थनै बाहिर निर्यात हुने गरेकोले हाम्रो प्रतिस्पर्धात्मक सूचकांक कमजोर रहेको देखिन्छ ।
तरकारी खेती तथा फलफूल खेतीतर्फ केही जिल्लाहरुमा व्यावसायिक कृषिको सम्भावनाका रहेतापनि प्रदेशको अधिकांश कृषि अझै गुजरामुखी नै छ । कर्णाली प्रदेशको धरै क्षेत्र अझै पनि प्राङ्गारिक अवस्थामै रहेको हुँदा जनस्वास्थ्यलाई ध्यानदिइ रसायन र विषादीरहीत कर्णाली बनाउन प्राङ्गारिक कर्णालीको रुपमा विकास गर्न सकिने अवस्था विद्यमान छ । कर्णाली प्रदेशमा खाद्य उत्पादनमा र खाद्यको मागको विचमा ठूलो खाडल रहेको देखिन्छ । त्यसैले यस क्षेत्रमा करिव २१ हजार मेट्रिक टन खाद्यान्न अपुग रहेको छ । सिंचाई, मल बीऊ र प्रविधिका कारण खाद्य उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको छैन भने गैर–कृषि रोजगारको अभाव, आगमन असुविधा र गरिबहरुको खाद्यमा कमजोर पहुँचका कारण पनि खाद्य सुरक्षाको जोखिम अझै विद्यमान छ ।
कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर, वालविवाह र आमा किशोरी बन्ने समस्या देशका सबै प्रदेशभन्दा उच्च रहेको छ । ग्रामीण भेगमा स्वास्थ्य सेवाको सुलभ पहुँच हुन सकिरहेको छैन । राजधानी र जिल्ला केन्द्रहरुमा पनि सुविधासम्पन्न अस्पतालहरु निर्माण हुन सकेका छैनन् ।
यस प्रदेशमा पुर्वाधार, निर्माण र ठूला उद्योग स्थापना नहुँदो वेरोजगारी समस्या उच्च रहेको छ । जसका कारण प्रदेशमा रहेका श्रमशक्तिहरु भारतमा गई कामगर्ने प्रवृत्ति उच्च रहेको देखिन्छ । त्यसमा पनि मौषमी कामदारका रुपमा भारत जाने युवा जनसंख्या ठूलो छ ।
कर्णाली प्रदेशका विकासका प्रमुख समस्याहरु-
· भौगोलिक विकटता ।
· यातायात, ऊर्जा र सडक पूर्वाधारको अभाव ।
· खाद्य तथा पोषण सुरक्षाको अभाव ।
· आम्दानीका स्रोतको कमी र उच्च गरिवी ।
· रोजगारीको अभाव ।
· उच्च युवा निरक्षरता ।
· निम्न गुणस्तरीय सार्वजनिक शिक्षा ।
· स्वास्थ्य सेवाको पहुँचमा कमी ।
· कमजोर श्रम उत्पादकत्व ।
· वित्तीय पहुँचको कमी ।
· वाल विवाह, छाउपडी, लैंगिक विभेद, छुवाछुत, लागु पदार्थ दुव्र्यसनी जस्ता सामाजिक समस्या ।
· युवा वेरोजगारी र आप्रवासन ।
· असल साशन र उच्चकोटीको संस्थागत संरचना निर्माणमा आवश्यक जनशक्तिको अभाव ।
सम्भावना र अवसरहरुः
कर्णाली प्रदेशका आर्थिक सामाजिक सूचकहरु दयनीय छन् र थुप्रै चुनौतिहरु छन् । तर पनि यो अथाह अवसर र सम्भावना भएको प्रदेश हो । नेपाल सरकार तथा स्थानीय सरकारले कर्णाली प्रदेश सरकार, संभावना र अवसरहरुलाई प्राथमिकतामा राखी कर्णाली प्रदेश सरकार यी सम्भावना र अवसरहरुलाई प्राथामिकतामा राखी नीति, योजना र कार्यक्रम तयगरी सोही अनुसार लागु गरेमा कर्णालीको दु्रत गतीमा आर्थिक विकास सम्भव छ ।
प्रदेशका अवसर र सम्भावनाहरु
कम जनसंख्या तथा धेरै भूभाग र प्राकृतिक स्रोत ।
विकास तथा लगानीका लागि कृषि उद्योग र सेवा सबै क्षेत्र नौलो ।
जनसांख्यिक लाभ बाल र युवा जनसंख्या उच्च रहेको ।
कर्णालीनदी प्रणाली तथा जलविद्युत परियोजना,जलमार्ग तथा साथै जलस्रोतको समुचित उपयोगको सम्भावना ।
आकर्षक पर्यटक स्थलहरु (तालहरु, मनोरम दृश्य, नदी, उच्च उपत्यका र नचढिएका हिमाल) ।
आर्गनिक कृषि उत्पादनको सम्भावना ९कृषि क्षेत्र अझै प्राङ्गारिक रहेकाले उच्च मूल्य र अर्गानिक कृषिको सम्भावना ०
जडिबुटीको अथाह भण्डार ।
उत्तर–दक्षिण जोड्ने परम्परागत सिल्क रोडको पुनर्स्थापनाले व्यापार र पर्यटनको पुनरोदयको सम्भावना ।
भाषा र संस्कृतिको गौरवपूर्ण प्रमुख सांस्कृतिक केन्द्र ।
खनिज तेल, खानी र रत्न पत्थरहरुको भण्डार ।
कर्णाली प्रदेशका जनतामा बढदै गएको चेतनाको स्तर ।
अबको प्रमुख प्राथमिकता
कर्णाली प्रदेशका आर्थिक सूचकांकहरु अत्यन्तै कमजोर छन् । त्यसैले दु्रत गतिमा कर्णालीको आर्थिक विकासका लागि पाँच क्षेत्र किटान गरी अबको गन्तव्य तय गर्न आवश्यक देखिन्छ ।
भौतिक पूर्वाधार
यातायात
पर्यटन प्रवर्द्धन
जटीवुटी
जल विद्युत
कर्णाली प्रदेशमा यातायातको पूर्वाधार भन्नु नै सडक र हवाई यातायात हो । भौगोलिक विकटताका कारण हवाई यातायात माथिल्लो कर्णाली क्षेत्रमा सञ्चालनमा आउन थालेको दशकौँ भएतापनि सडक यातायात भने भर्खरै पुग्न थालेको छ । जलयात र केवलकार अहिलेसम्म सञ्चालनमा आउन नसकेको भएतापनि कर्णाली प्रदेश सरकारले सम्भाव्यता अध्ययन सूचीमा राखेको छ ।
क० सडक यातायात
कर्णालीप्रदेश सरकारले यस प्रदेशको समृद्धिलाई मध्यनजर गर्दैं आफ्नो नीति तथा कार्यक्रममा सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिएको छ । सडक र पूर्वाधारमा कर्णालीप्रदेशको ठूलो बजेट विनियोजन पनि भएको छ । कर्णालीलाई हिल्सा नाकासम्मको प्रधानमन्त्री द्रूतमार्ग निर्माणका लागि चिनियाँ रेलवेसँग पूर्व सम्भाव्यता अध्ययनका लागि सम्झौता गरिसकेको छ ।
संघीय सरकारले पनि बेल्ट एण्ड रोड इनिसियटिभको सहकार्यमा हिल्सामा पुल निर्माण गर्ने र कर्णालीकरिडोरलाई प्राथामिकतामा राख्न सकारात्मक देखिएको छ । कर्णालीकरिडोर, भेरी करिडोर, मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्गले कर्णालीप्रदेशमा उत्तर दक्षिण र पूर्व पश्चिम दोहोरो रणनीतिक सडक सञ्जाल निर्माणमा योगदान पुर्याउने देखिन्छ । कर्णालीको डोल्पामा सडक सञ्जाल पुगिसकेको र अर्को जिल्ला हुम्लामा सडक सञ्जाल जोडिने क्रममा रहेको छ । प्रदेश राजधानी र स्थानीय तहहरुमा सहरी सडक रि¨ रोड र ग्रामीण सडकहरु बन्ने क्रममा छन् । १० मध्ये ६ वटा जिल्लामा कालोपत्रे सडकले जोडिएको छ । सडक सञ्जालको विकासका निमित्त कर्णालीका यी सवल पक्षहरु हुन् ।
सुविधासम्पन्न सडक यातायात तथा पूर्वाधार विकास हुन नसक्नु कर्णालीप्रदेशको आर्थिक समृद्धिका लागि मुल बाधक तत्व बनेको छ । २५ वटा नगर र ५४ गाउँपालिका रहेका छन । यस प्रदेशका १२ वटा नगरपालिका मात्र राजमार्गले जोडिएका छन् र बाँकी जिल्लाहरु ग्रामीण धुले सडकले जोडिएका छन् । केवलकार र जलयातायात अझैं सम्भावना अध्ययनकै चरणमा छन् भने कर्णालीका लागि हवाईयातायात अझै सर्वसुलभ र नियमित बन्न सकेको छैन ।
बाह्रै मास यातायात चल्न सक्ने अवस्था नरहेको छ । ग्रामीण सडकहरु विस्तार गर्न प्रदेश र स्थानीय सरकारहरु जति उद्धत छन्, त्यही रुपमा सबै मौसममा सञ्चालन आउने गरी सडकको स्तरउन्नति र मर्मत संभार गर्ने काममा ध्यान दिन सकिएको छैन ।
हेवी मेसिन प्रयोग गरी धमाधम बनिरहेका धेरै ग्रामीण सडकहरु पर्यावरणमैत्री छैनन् । मानव श्रमको उपयोग गरी हरित सडकको मोडलबाट अगि बढ्दा ग्रामीण रोजगारी सिर्जना भई आम जनताको आम्दानीमा वृद्धि हुन जान्छ र यो वातावरणमैत्री पनि हुन्छ । कर्णालीप्रदेशले दिगो विकासको लक्ष्यलाई ध्यान दिँदै ग्रामीण कृषि पर्यटक सडकहरुलाई सकेसम्म हरित सडकको अवधारणामा अगि बढाउनु आवश्यक छ । कर्णालीकरिडोर र भेरी करिडोर रणनीतिक सडक प्रदेशको आर्थिक विकासका मेरुदण्डहरु हुन् । कर्णालीप्रदेशमा तुलनात्मक लाभका क्षेत्रहरु विस्तृत भएकाले गुणस्तरीय र राम्रो सडकले आर्थिक विकासको क्षेत्रलाई छिटो उत्प्रेरित गर्छ । सडक गुणस्तरीय बन्दा जलविद्युत निर्माण, पर्यटन, फलफुल खेती, पशुपालनको विकासको ढोका खुल्दछ । गैरकृषि क्षेत्रमा रोजगारीका अवसरहरुमा वृद्धि गरी जनताको आयमा वृद्धि गर्दछ । स्थानीय उत्पादनको निर्यात र सुलभ खाद्य आपूर्ति हुन गई हिमाली जिल्लाको खाद्य सुरक्षामा टेवा पु(याउँदछ ।
सडकहरु काम नलाग्ने बनेका छन् रकम फजुल खर्चजस्तो बनेको छ । कर्णालीप्रदेशमा पनि बाटो निर्माणको यस्तो गलत मोडेलले प्रश्रय पाएको छ । अत्यावश्यक पहुँच पु(याउनुपर्ने स्थानको नक्साङ्कन गरी अन्य सबै स्थानमा बनेका बाटोलाई स्तरोन्नति गर्न ध्यान दिन ढिलो भइसकेको छ ।
रणनीतिक सडकको स्तरोन्नतीले यात्रा समयमा मात्र कमि ल्याउदैन । यसबाट ढुवानी र यात्रु भाडा दुबै सुलभ हुन जान्छ । बाटोका गुणस्तरीयताका कारण नेपालगञ्ज, सुर्खेतको ढुवानी र यात्रु भाडाभन्दा सुर्खेत जुम्लाको ढुवानी र यात्रु भाडा दोव्बर भन्दा बढी भएको १ लिटर पानीको ५० रुपियाँ पर्ने महंगो र जोखिमपूर्ण यातायातले जनताको जीवनस्तर र आर्थिक गतिविधिमा नै नकारात्मक प्रभाव पर्दछ ।
सडक सञ्जालबिना आर्थिक समृद्धिको कल्पना समेत गर्न सकिँदैन भने सडक र यातायातसँग जनताको पहुँच मात्रले समृद्धि आइहाल्दैन । यातायात सञ्जालसँगै आसपासको क्षेत्रमा उत्पादन र आर्थिक गतिविधिलाई तीब्र पार्न थप लगानी गर्न आवश्यक हुन्छ ।
प्रदेशको आर्थिक मेरुदण्डका रुपमा रहेका रणनीतिक सडकहरु स्तरोन्तति गर्न र छिटो सम्पन्न गर्न केन्द्रसँग आवश्यक समन्वय गरी संयुक्त बजेट परिचालन गर्न प्रक्रिया थाल्नु पर्नेछ ।
ख० हवाई यातायातः
कर्णाली प्रदेश सडक सञ्जालको विकास ढिलो भएकोले त्यहाँका जनतालाई यातायात सेवा प्रदान गर्न हवाई सुविधा अत्यावश्यक बन्न पुगेको हो । तरपनि प्रदेश राजधानी वीरेन्द्रनगरबाट प्रभावकारी सिधा हवाई सेवा सञ्चालन हुन सकिरहेको थिएन । कर्णालीका हिमाली जिल्लामा नेपालगञ्जबाट केही उडानहरु भरिएता पनि ती नियमित र प्रयाप्त हुन सकिरहेका थिएनन् । हाल वीरेन्द्रनगर सुर्खेतबाट राजधानी र प्रदेशका विभिन्न स्थानमा दैनिक केही उडान हुने गरेको छ ।
पर्यटन
कर्णालीप्रदेश भौगोलिक विविधता, मनोरम स्थलहरु र जैविक विविधता भएको थलो हो । यो प्रदेश नेपालको इतिहास, कला, भाषा र संस्कृतिको उद्गम स्थल पनि हो । खस साम्राज्यको सिंजा र दुल्लु सभ्यता, एसियाकै पुरानो मानिने बोन सभ्यता, पश्चिमी सिल्क रोड, खस भाषाका शिलालेखहरु, गडी, पञ्चदेवल, गुम्बाहरुले यसको पुष्टि गर्दछ । प्रकृतिको सुन्दरता र मनोमहकता रारामा देख्न पाइन्छ भने प्रकृतिको भव्यपन र विचित्रता से–फोक्सुण्डोमा महसुस गर्न पाइन्छ । कर्णालीप्रदेशमा ६ हजार मिटरभन्दा अग्ला १२ वटा हिमाल मध्ये अधिकांश नचढिएका हिमालहरु छन् । मानसरोवर क्षेत्रबाट उद्गम हुने नेपालकै लामो नदी कर्णालीमा मानसरोवरदेखि गंगासम्मको र्रयाफ्टिङको सम्भावनालाई उजागर गर्दछ ।
कर्णालीप्रदेशमै ऐतिहासिक काँक्रेविहार, देउती बज्यै, बुलबुले, दैलेखको पञ्चकोशी, ज्वाला क्षेत्र, महावु गाथ, भुर्तिका २५ देवल, दक्षिण एसियाको दोश्रो अग्लो मानिने कालिकोटको पचाल झरना, खाडाचक्र पञ्चदेवल, जुम्लाको चन्दननाथ, डुडुल चैत्य, मुगुको छाँयानाथ, हुम्लाका लिमी भ्याली, बाह्रदेउ र खार्पुनाथ, माथिल्लो डोल्पा र त्रिपुरा सुन्दरी, सल्यानको कुभिण्डे दह, डोल्पाको जगदुल्ला ताल,रुकुमको स्यार्पु दह, जाजरकोटको खलंगा दरवार, चित्रीपाटन, हिमालयन ग्रेट टेल आदि यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यका विविधतालाई उजागर पार्दछन् ।द्रूत सडक सञ्जाल हुनासाथ हिमाञ्चल र तिव्बतमा देखिएको पर्यटकहरुको ओइरो कर्णालीमा देख्न सकिने छ ।
तर कर्णालीको पर्यटनका लागि आन्तरिक आकर्षण भने पहिलो रारा र दोश्रो से फोक्सुन्डो नै हो । त्यसलाई प्रदेश राजधानी वीरेन्द्रनगरले जोड्नु पर्दछ । कर्णाली र भेरी करिडोरको सडक सञ्जाल, फोक्सुन्डो देखि रारासम्म स्तरिय पदमार्ग विकास गर्न सक्दा कर्णालीप्रदेशमा पर्यटकीय सुनौलो त्रिभुज निर्माण हुन पुग्दछ । यो त्रिभुजमा सुर्खेतका काक्रेविहार देखि दैलेख कालिकोट जुम्लाका एतिहासिक, धार्मिक स्थलहरु र पूर्वतिर रुकुम, सल्यान र जाजरकोटका पर्यटकीय क्षेत्रहरु जोडिन पुग्दछन् । यसरी कर्णाली प्रदेशले घोषणा गरेको पर्यटकीय सर्किट कर्णाली गोल्डेल ट्रिएन्गलका रुपमा स्थापित हुन्छ । हुम्लाका पर्यटकीय थलोहरुलाई भने मानसरोवर रुटले जोड्दछ ।
पर्यटकीय हव विकास गर्न पर्यटकीय पुर्वाधार महत्वपूर्ण कुरा हो । नेपाल पर्यटकीय गन्तव्यको आकर्षण र पूर्वाधार विकासको अवस्था ठिक उल्टो रहेको छ । कर्णालीमा पर्यटकीय पूर्वाधारहरुको अवस्था झनै विकराल छ । कर्णालीमा लामो पदयात्रामा जाने बाहेक मनोरम स्थल हेर्न जाने पर्यटकहरु केही दिन विताउन पनि गाह्रो पर्ने अवस्था छ । पदयात्राका दृष्टिकोणबाट हामीसँग लामो अबधि राख्नसक्ने आर्कषक पदमार्गहरु पर्याप्त हुन सक्दछन् । तर सबै पर्यटकहरु पदयात्रामा जाने खालका हुँदैनन् । एक दुइ दिन बस्ने त्यस्ता पर्यटकहरुको बसाई लम्बाउन पर्यटकीय हवहरुमा राम्रा होटलहरु, मनोरञ्जन गर्ने स्थलहरु, सरसफाई, विशिष्ट भोजनगृहहरुका साथै कुशल अतिथि सत्कार आवश्यक पर्दछ । यसका लागि कर्णालीको पर्यटनमा उद्यमशीलता, संस्था र संरचना विकास गर्न आवश्यक हुन्छ ।
कर्णालीप्रदेशका मुख्य पर्यटकीय हवसँग जोडिएर, अग्र्यानिक कृषि पर्यटन, जडिबुटी पर्यटन, इतिहास र संस्कृतिका सक्रिटहरु, मनोरञ्जनात्मक गतिविधिहरु, साहसिक पर्यटन, होम स्टे र रिसोर्टहरु आदिको विकासबाट पर्यटन भित्र्याउन सकिन्छ ।
विद्युत
कर्णाली जलाधार र भेरी जलाधारको मुल स्रोत हिमालय क्षेत्र हो । यी दुवै हिमनदीलाई निरन्तरता दिने गरी करिव एक सय खोलानाला बगिरहेका छन् । यस प्रदेशमा १८००० मेगावाट जलविद्युत उत्पादन गर्न सकिने अध्ययनहरुले देखाएको छ ।
क० पर्यटन युवा रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्र हो ।
ख० अरु देश र छिमेकको विभिन्न क्षेत्रका उदाहरण हेर्दा कर्णालीमा सहजै पर्यटक आर्कषण गर्न सक्ने र भार बहन क्षमता छ । धार्मिक तथा साँस्कृतिक महत्व बोकेको यस प्रदेशको हिमाली जिल्ला मुगु, जुम्लाको हवाई मैदानको स्तरोन्नती गरी नियमित गर्ने र कालिकोटको सुनथराली विमानस्थलसञ्चालनमा ल्याई पर्यटनमैत्री वातावरण सिर्जना गर्न आवश्यक छ । — खगेन्द्र भारती (प्रमुख प्रशासकिय अधिकृत÷ भागेश्वर गाउँपालिका डडेल्धुरा)

village studio – YouTube

 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।