२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

प्रधानमन्त्री ओली भन्छन्- अध्यादेश फेल गर्ने आँट छ कसैको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका हुन् । उनले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गरे । उनले संसद्‌मा सांसदहरुले संसदीय मूल्य-मान्यता र मर्यादाविरीत क्रियाकलाप गरेका आरोप लगाए । मुद्दा लडेर संसद् पुन:स्थापना गराएर संसद्‌मा धामी नाच देखाएको आरोप पनि ओलीले लगाए ।

उनले भने, “छलफल गर्दा  माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिएजस्तै माननीयले बोल्ने भाषाजस्तै बोल्यौं । छलफल गरौं न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाच हो कि ? पार्लियामेन्टमा । हिजो पहिलो दिन औपचारिक रुपमा पार्लियामेन्ट सुरु भएको छ, गुरुरर कुदेर आएर वेलमा आएर नारा लगाएका छन् कराएका छन् । के बिग्रियो भन्दाखेरि एसिड आक्रमणविरुद्धको अध्यादेश पेस गर्यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? फेल गर्ने आँट छैन । मन पनि छैन । फेल गर्ने आँट पनि छैन । त्यसकारण वेल घेरेर अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी । प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो ।”

पुन:स्थापित संसद्‌लाई देश र जनताका समस्याबारे छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाए । उनले भने, “लडाइँ गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोके मुद्दा हालेर । संसद् पुन:स्थापना किन गर्या रहेछ भन्दा उफ्रिन नारा लगाउन, कराउन, अध्यादेश पेस हुन नदिन, एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ ।”

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफू कुन दलको हो भन्ने स्पष्ट भइसकेको भन्दै उनले आफूलाई कुन पार्टीको हो भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गरे । उनले भने, “हिजो मैले बोलिनँ । प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराखेका थिए । अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? भनेर । उहाँहरुले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको हो भनेर । लक्ष्मीप्रसाद देवकोटोले भनेजस्तो दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले भएर के भनेजस्तै देख्नै नसक्ने, देख्नै नखोज्ने आँखा भएर के गर्ने ? कान भएर के गर्नु सुन्नै नसक्ने । जन्मदैको दोष पनि होइन । कुनै रोगविमारको दोष पनि होइन ।  सुनिराखेको छ तर पनि सुन्दैन । देखिराखेको छ तर पनि देख्दैन । अब हुदाँहुदाँ प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जानुहोस् ।”

मुलुकमा स्थायित्व काम गर्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेर चुनावमा गएको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले पुन:स्थापन भए पनि ‘दूरदिन’ सुरु भएको टिप्पणी गरे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।