दार्चुला- शनिबार दार्चुलामा एक मिनीट्रकमा आगजनी गरिएको छ। दार्चुला सदरमुकामतर्फ गइरहेको सुपप्र ००१ क १५४८ नम्बरको मिनीट्रकमा जिल्लाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आगजनी गरिएको हो।



आज नेकपा विप्लव समूहको नेपाल बन्द आव्हान भएकाले प्रहरीले स्कटिङमा गाडीलाई लगिरहेको थियो। तर उक्त ट्रक चालकले गोकुले चेक प्वाइन्टमा आफु नजिकै जाने भनेर ढाँटेको प्रहरीले बताएको छ।
नजिकै जाने भनेर चेक प्वाइन्ट पार गरेको उक्त ट्रक दार्चुला सदरमुकामबाट ६५ किलोमिटर टाढा आगजनी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पुष्कर ऐरीले बताए।
‘ट्रक चालकले चेक प्वाइन्टमा नजिकै जाने भनेर ढाँटे र घटनाबारे पनि जानकारी गराएनन्’ उनले भने, ‘ हामीलाई एक एम्बुलेन्स चालकले आगजनीबारे खबर गरेका थिए। सोही कारण घटना शंकास्पद भएकाले हामीले ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छौं।’

























