शिक्षासेवी पन्तको अवसान



दीर्घराज उपाध्याय – आठ दशकअघि मुलुकमा राणा शासनको जगजगी थियो । जनता राणाहरुको निरकुंश शासनका बिरुद्ध जुर्मराउदै थिए । स्वतः स्फूर्त ढंगले जिल्ला जिल्लामा बिरोधका आवाजहरु उठ्न थालेका थिए । त्योसंगै जिल्लाका सदरमुकामहरुमा विद्यालय खुल्ने क्रम शुरु भयो । त्यही क्रममा डडेल्धुरामा २००४ सालमा आधार पाठशाला खुल्यो । जिल्लाकै पहिलो पाठशाला खोल्ने व्यक्ति थिए, चुडामणी पन्त । तिनै पन्तको सोमवार धनगढीमा निधन भयो ।

बुवा भूमिनन्द पन्त र आमा टिकेश्वरी पन्तको छोराका रुपमा वि।स। १९८५ चैत १५ गते अमरगढी नगरपालिका–२ कारीगाँउमा जन्मिएका पन्तको प्रारम्भिक शिक्षा भारतको सिंगाहीमा भयो । भूमिनन्द पढेका थिएनन । तर उनलाई शिक्षाको महत्व थाह थियो । भूमिनन्दकी बहिनीको बिबाह भारतको सिंगाहीका उप्रेती परिवारमा भएको थियो । छोरालाई पढाउनुपर्छ भन्ने चेतले भूमिनन्द छोरा चुडामणीलाई भारतको सिंगाहीमा बहिनीको घरमा छोडेर डडेल्धुरा फर्के । जहाँ उनको बाल्यकाल बित्यो । प्रारम्भिक शिक्षा सिंगाहीबाट शुरु गरेको उनले त्यहीबाट मध्यमा -एसएलसी गरे ।
मध्यमा गरेपछि भने उनी डडेल्धुरा फर्के । त्यसको लगत्तै काठमाण्डौं हानिए । उनी जन्मिएको कारीगाँउबाट भीमदत्त पन्तले शुरु गरेको किसान बिद्रोहको झिल्कोले काठमाण्डौं समेत तातेको थियो ।
त्यही बेला डडेल्धुरामा शैक्षिक जागरणले आकार लिदै थियो । त्यो जागरणको अगुवाई गर्ने व्यक्ति थिए, चुडामणी पन्त । भीमदत्त र चुडामणी एउटै परिबेशमा हुर्किएका दौंतरी थिए ।
कारीगाँउका पन्त र हाट गाँउका उप्रेतीका बीचमा पारिवारिक सम्बन्ध थियो । आधार स्कुलका डाईरेक्टर थिए, तिर्थराज पन्त । उप्रेती नातामा उनको दाई पर्थे । मध्यमाको पढाई पुरा गरेर काठमाण्डौं गएका चुडामणीले पन्तकै सल्लाहमा आधार स्कुलको शिक्षकको तालिम लिए । र, २००४ सालमा तालिम लिएर डडेल्धुरा फर्के ।
त्यसलगत्तै डडेल्धुराको बगरबाटा कालिकास्थानमा एक जना बिष्टको जग्गा थियो । त्यही जग्गामा उनले आधार स्कुल स्थापना गरी पढाई शुरु गरे । त्यतिबेला दलित समुदाय पढाईबाट बञ्चित थियो । उनको सोच भने शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित नहोस भन्ने थियो । दलित समुदायका बालबालिकाले पनि पढ्न पाउनु पर्छ भन्ने त्यही सोचले उनले पाठशाला सबैका लागि खुला गरे । तर त्यो गैर दलितलाई सह्य थिएन । उनलाई दलितका सन्तान नपढाउन दवाव आयो । तर उनी आफ्नो अडानबाट पछि हटेनन । बरु कतिपय गैर दलितले आफ्ना सन्तानलाई पाठशाला पठाउन छोडे । दलितका सन्तानसंगै पढाउन कतिपय गैर दलित तयार भएनन ।
उनीसंगै काठमाण्डौंमा आधार स्कुलको तालिम लिएर फर्किएका जयानन्द चटौतले पनि केही समय पढाए । चटौतले छोडेपछि उनी अर्को शिक्षकको खोजीमा जुटे । गैर दलितका बालबालिका समेत पढाइने भएकोले शिक्षकहरु पनि पढाउन तयार हुन्थेनन ।
उनले भने दलित समुदायका बालबालिकालाई पनि विद्यालय भर्ना गर्ने अभियान थाले । त्यसको चौतर्फी बिरोध भयो । दलित समुदायका बालबालिका भर्ना गरिएपछि कतिपय गैर दलितले आफ्ना सन्तानलाई आधार स्कुलमा नपठाउने भन्दै पन्तलाई धम्क्याए । उनी कसैको धम्कीबाट बिचलित भएनन । उनको यही अडानका कारण डडेल्धुरामा दलित समुदायका बालबालिकाहरु स्कुल जान पाए ।
त्यही आधार स्कुल नै अहिलेको महेन्द्र नमूना मावि हो । जहाँ नेपाली काँग्रेसका सभापति तथा पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले समेत केही समय पढेका थिए ।
कारी गाँउबाट दुई वटा विद्रोहसंगै शुरु भएका थिए, पहिलो दलितलाई पढाउने । दोस्रो, जमीन जोत्नेको हुनुपर्छ भन्ने । शिक्षामा बिद्रोह गर्ने चुडामणी पन्त थिए । किसान बिद्रोह गर्ने भीमदत्त पन्त थिए । उनीहरु दुबै जना दौंतरी थिए । भीमदत्त उनीभन्दा दुई वर्ष जेठा थिए । भीमदत्तका पत्रहरु बोक्ने उनी पनि एक थिए ।
२००७ सालमा राणा शासनको अन्त्य भयो । मुलुकमा प्रजातन्त्र आयो । २०१० साल साउन १७ गते तत्कालिन सरकारले किसान नेता भीमदत्त पन्तको हत्या ग¥यो । पन्तको हत्यापछि किसान बिद्रोह समाप्त भयो । तर उनले थालेको शैक्षिक जागरणले बिशाल रुप लिदै गयो ।
२०१५ सालको आम निर्बाचनमा डडेल्धुराबाट द्धारिका देवी ठकुरानी र पुष्कर नाथ उप्रेतीबीच प्रतिस्पर्धा भयो । चुनावमा ठकुरानी बिजयी भईन । र, ठकुरानी पहिलो जन निर्वाचित सरकारको सहायक मन्त्री बनिन । उनी सहायक मन्त्री ठकुरानीका स्वकीय सचिव नियुक्त भए । र, आफ्नो ठाँउमा सुदर्शन पन्तलाई प्रधानअध्यापक बनाए ।
सिंगाहीका राजाले हाट गाँउकै बासुदेव उप्रेतीलाई पढ्न लण्डन पठाएका थिए । लण्डनबाट फर्केर आएपछि उनी राणाहरुको सल्लाहकार थिए । तर बासुदेवका छोरा पुष्करनाथ भने राणाको हुकुमी शासनमा बिरोधी थिए । राणाले पुष्करनाथ जेललाई जेल हाले । २००७ सालमा राणा शासनको अन्त्य भएपछि मात्र उनी जेलबाट छुटे । प्रजातन्त्र आएपछि भने पुष्करनाथ शिक्षा मन्त्री भए । तिनै उप्रेतीलाई द्धारिकादेवी ठकुरानीले पराजीत गरेकी थिईन ।
वि।स।२०१४ सालमा डडेल्धुरामा राजा महेन्द्रको सवारी भयो । जिल्लावासीका तर्फबाट राजाको अभिनन्दन गरियो । जसको नेतृत्व एनडी प्रकाश चटौतले गरेका थिए । राजाको अभिनन्दन पत्र उनले लेखेका थिए । अभिनन्दन समारोहमा पन्तले डडेल्धुरामा माध्यामिक विद्यालयको आवश्यकता रहेको जिकिर गरे । पन्तको आग्रहमा राजा महेन्द्रले माध्यामिक विद्यालयको स्वीकृति दिए । र त्यही आधार पाठशाला महेन्द्र माध्यामिक विद्यालयमा रुपान्तरण भयो । हाल डडेल्धुराको सदरमुकाममा रहेको महेन्द्र नमूना मावि त्यही आधार पाठशालाको जगमा बनेको हो ।
जहाँ उनले गत वर्ष चुडामणी–जानकी शिक्षा छात्रबृतिका लागि पाँच लाखको अक्षयकोष स्थापना गरे । गरीव र जेहेन्दार विद्यार्थीले आर्थिक अभावका कारण पढ्नबाट बञ्चित हुनु नपरोस भन्ने सोचले मृत्यु हुनुभन्दा दुई वर्षअघि उनले अक्षय कोष स्थापना गरेका थिए ।
राजा महेन्द्रले निर्बाचित सरकारलाई बिघटन गरी सत्ता आफ्नो हातमा लिए । कतिपय मन्त्रीहरुलाई जेलमा हाले । कतिपय निर्बासित भए । पन्त फर्केर डडेल्धुरा आए । र, फेरि बिद्यालयको प्रअ भए । त्यसको केही समयपछि कुमाउँबाट एक जना सिंह थरका शिक्षकलाई ल्याएर आए । तिनैलाई प्रअ बनाए ।
त्यसको केही समयपछि उनले विद्यालय छोडे । उनी शिक्षाका कर्मचारी थिए । २०२१ सालमा आईतमा संस्कृत पाठशाला खोले । २०२८ सालमा नयाँ शिक्षा लागु भयो । २०३२ सालमा संस्कृत पाठशाला बन्द भयो । त्यसपछि उनी जिल्ला शिक्षाको प्राथमिक विद्यालय निरीक्षक भए । २०३२ सालदेखि बैतडी र डडेल्धुरामा काम गरे । २०४५ सालमा अवकाश पाए । उनी जहाँ जहाँ जान्थे स्कुल खोल्थे । खोल्न लगाउथे । कञ्चनपुरमो बिचुवामा निम्न माध्यामिक विद्यालयलाई उनले माध्यामिक बनाए । र, त्यसको अध्यक्ष भएर समेत काम गरे ।
उनका शिष्य थिए, बीर बहादुर शाही । पछि महेन्द्र माविको शिक्षकका रुपमा पनि सिंहले काम गरे । एकदिन समयमा नआउदा शाहीलाई गयल गरिदिए । त्यसको भोलिपल्टदेखि शाही आएनन । पछि उनी गृह सचिव भए । शाहीले उनलाई भन्थे, गुरु तपाई नभए भए आज म यो स्थानमा हुदैनथे ।
शिक्षा, समाजसेवासंगै साहित्यमा पनि उनको बिशेष लगाव थियो । प्रजातन्त्र प्रति उनको निष्ठा थियो । त्यस कारण उनको समकालीन साहित्यकारहरुसंगै नेताहरुसंग राम्रो सम्बन्ध थियो । सुवर्ण सम्शेर, वीपी कोईराला र सूर्य प्रसाद उपाध्यायले लेखेका चिठ्ठीहरु लामो समयसम्म उनीसंग सुरक्षित थिए । नेपाली साहित्य संस्थानमा केन्द्रीय सदस्य थिए, बालकृष्ण सम । तत्कालिन समयमा प्रकाशित हुने साहित्यिक पत्रिकामा सम,माधव घिमिरेसंगै उनका लेख र कविताहरु छापिन्थे । उनका थुप्रै अप्रकाशित पाण्डुलिपीहरु छन् । साहित्य भनेपछि हुरुक्क हुने उनी नेपाल साहित्य संस्थानले झापा, बिराटनर र पोखरामा आयोजना गरेका साहित्यिक सम्मेलनमा समेत सहभागी भएका थिए ।
उनको साहित्य सृजना प्रतिको रुचि र लेखनको एनडीप्रकाश चटौतले समेत आफ्नो पुस्तकमा चर्चा गरेका छन् । चैत,धमारी लोक साहित्य सर्जक देवकान्त पन्तले उनलाई सम्बोधन गरेर लोक साहित्य लेखेका छन् ।
शरीर स्वस्थ रहुञ्जेल शैक्षिक उन्नयन र साहित्य सृजनामा आफूलाई समर्पित गरेका उनको सोमवार निधन भएको छ । उनको निधनबाट सुदूर पश्चिमले डडेल्धुरामा शिक्षाको जग बसाल्ने एक व्यक्तित्व गुमाएको छ । उनको गुन सुदूरपश्चिमले कहिल्यै बिर्सिने छैन ।
पश्मिटुडे बाट साभार

























