मेलौली (बैतडी)ः भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आवादी रहेको देखाउने प्रयास गरिएको छ । तर चार दिनको प्रयासमा पनि ढाकछोपको कार्य पूरा भएको छैन ।
बैतडीको मेलौली नगरपालिका–८, कोटीगाउँको भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ तीन वर्षदेखि बाँझो रहेको र आर्थिक अनियमितता भएको विषयमा यही साउन २३ गतेको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको थियो । त्यसको भोलिपल्ट नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अनियमितताको छानबिन गर्न भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरीलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री चौधरीले पनि कृषि ज्ञानकेन्द्र बैतडीलाई स्थलगत अनुमगन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएपछि बिहीबार कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख गोपालदत्त भट्टलगायतको टोलीले स्थलगत अनुगमन गर्दा नमुना गाउँ दुरुस्त गराउने प्रयास भइरहेको पाइएको थियो ।
बैतडी सदरमुकामबाट करिब छ घण्टा गाडीमा र दुई घण्टा पैदल यात्रापछि पुगिने दुर्गम भम्ता खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ पुग्दा खिया लागेका फलामका खम्बामा धमाधम पाल ओढाउने काम भइरहेको थियो । कृषि ज्ञानकेन्द्र बैतडीका कार्यालय प्रमुख र सञ्चारकर्मीलगायतको टोली आउने थाहा भएपछि जग्गा खनजोत गरिएको र भौतिक संरचना पनि दुरुस्त बनाउने प्रयास गरिएको हो । अनुगमन हुने हल्ला चलेपछि छ हल गोरु लगाई रातारात जोतेर झार उखेलेको कृषि समूहका सचिव धनीराम लोहारले बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ डिभिजन कार्यालय बैतडीबाट समयमै लिफ्ट सिँचाइ पूरा नहुँदा खेत बाँझो राख्नुपर्ने अवस्था आयो । अनुगमन हुने भएपछि निकै कष्ट गरेर बाँझो खेतको झार उखेलेर पोलिहाउसमा कागज ओढाउने काम चलिरहेको छ ।”
लिफ्ट सिँचाइ र तरकारी खेतीका लागि तीन आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र र सिँचाइ डिभिजन कार्यालय पाटन बैतडीबाट दुई करोड ४३ लाख रुपियाँ खर्च भए पनि तरकारी खेती हुनु त कता हो कता खरिद गरिएका कृषि सामग्रीसमेत अलपत्र परेको समाचार आएको थियो । कृषि ज्ञान केन्द्रबाट मुख्यमन्त्री नमुना कृषि कार्यक्रम सञ्चालन हुने बेलामा स्थानीय कुलोबाट सिँचाइ गरेर सुरुको वर्ष तरकारी फलाए पनि बाढीले कुलो बगाएपछि खेत बाँझो रहेको लोहरले दाबी गर्नुभयो । कुलोबाट सिँचाइ हुने बेलामा पनि तरकारी फलाएर आम्दानी भएको समूहसँग कुनै अभिलेख भने छैन ।
मुख्यमन्त्री नमुना कृषि गाउँ बनाउन कृषि ज्ञानकेन्द्र बैतडीमार्फत आर्थिक वर्ष २०७।्७ मा ५० लाख, २०७७।७८ मा ५० लाख र २०७८।७९ मा पाँच लाख गरेर एक करोड पाँच लाख रुपियाँ खर्च गरेर कार्यक्रम सम्पन्न भएको कागज बनाइएको थियो । त्यस्तै लिफ्ट सिँचाइका लागि सिँचाइ डिभिजन कार्यालय पाटन, बैतडीबाट आव २०७६।७७ मा ७२ लाख, २०७७।७८ मा ३६ लाख, २०७८।७९ मा ३० लाख र चालू आव २०७९।८० मा थप २० लाख रुपियाँ बजेट आए पनि काम पूरा नभएको सिँचाइ उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह ठगुन्नाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लिफ्ट सिँचाइ नबनेसम्म खेतमा तरकारी लगाउन सकिने अवस्था छैन । कृषि ज्ञान केन्द्रबाट पोलिहाउस, मिनी टिलरलगायत बीउबिजन सबै पाए पनि सिँचाइ नहुँदा त्यतिकै थन्क्याएर राख्नुपरेको छ ।” गोरखापत्रबाट




























