२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार


डीआर पन्त
डडेलधुरा
— गाउँका अगुवामध्येका सीताराम जोशीले दर्जनभन्दा बढी चुनावमा मतदान गरिसकेका छन् । हरेक पटक उम्मेदवारहरूले गरेका वाचा उनलाई सम्झना छ । उनी कुनै विद्यार्थीले कण्ठस्थ गरेको पाठजस्तै उम्मेदवारका वाचा फरर भन्न सक्छन् । पञ्चायतदेखि अहिलेसम्मका हरेक निर्वाचनमा कुन उम्मेदवारले के वाचा गरे जोशी फेहरिस्त नै सुनाउन सक्छन् । तर उनको गाउँमा अहिले पनि आधारभूत विकास भने पुग्न सकेको छैन ।
डडेलधुराको भागेश्वर गाउँपालिकाको सवैभन्दा दुर्गम बस्ती चुल्लका बासिन्दा जोशीजस्ता पाका पुस्ताका मात्र होइन, युवा पुस्ताका हरि बोहराले पनि चौथो पटक मतदान गर्दै छन् । उनको अनुभव पनि जोशीभन्दा फरक छैन । २०५४ को निर्वाचनदेखि मतदान गर्दै आएका बोहरा भन्छन्, ‘केन्द्रको निवार्चनमा त अहिलेसम्म कुनै उम्मेदवार आएको सम्झना छैन । हरेक स्थानीय निर्वाचनमा उम्मेदवार पुग्छन तर चुनावपछि फर्केर फेरि गाउँमा आएको सम्झना छैन ।’ गाउँ गाउँमा सिंहदरवार पुग्छ भन्दै ठूला सपना देखाइएको गत स्थानीय तह निर्वाचनपछि पनि हाम्रो गाउँको लागि सिंह दरबार होइन चुनावमा मत माग्न आएका उम्मेदवारसम्म पुगेनन् । ‘सिंहदरबार त टाढाको विषय हो,’ उनले गुनासो गर्दै भने ।

अहिलेसम्म यो दुर्गम गाउंॅमा सामान्य विकासका पूर्वाधारसमेत निर्माण हुन सकेका छैनन् । गत निर्वाचनमा वडा सदस्यमा विजयी भएका एक जना स्थानीय प्रकाश जोशीको अथक प्रयासले गाउँ जोड्ने सडकको ट्र्याकसम्म खुल्यो त्यस वाहेक अरु कुनै पूर्वाधार विकास हुन सकेन । जिल्लाको प्रसिद्ध भागेश्वर मन्दिर जाने मूल बाटोमा रहेको यो गाउँमा ६ सयभन्दा बढी जनसंख्या छ । मुख्य रूपमा फलफूल खेती हुने यो गाउँका बासिन्दाले आफूले उत्पादन गरेको फलफूल सडकको पहुँच नहुँदा डोकामा बोकेर सडक सुविधा भएको बगरकोटसम्म पुर्‍याउनुपर्ने बाध्यता छ ।
‘हाम्रो गाउँमा फलेको फलफुल राजधानी काठमाडौंसम्म पुग्छ तर गाउँको अवस्था अहिले पनि दयनीय छ,’ स्थानीय लोकेश बोहराले भने ‘विकासका सपना देखाउने हरेक पार्टीलाई मत दिएर हेररिसक्यौं तर कुनै पनि पार्टी र उम्मेदवारको प्राथमिकतामा हाम्रो गाउँ पर्न सकेन ।’ उनका अनुसार दैनिक दुई घण्टा पैदल हिंडेर माध्यमिक तह पढ्न विद्यालय जानुपर्ने, उत्पादन भएको तरकारी र फलफूल बिक्री गर्न पनि दैनिक त्यति नै हिंड्नुपर्न बाध्यता छ ।

‘यसपटक पनि हरेक दिन कुनै न कुनै पार्टीका उम्मेदवार मत माग्न गाउँ पुग्छन्, वाचा गर्छन् र भन्छन ‘यस पटक गाउँका समस्या सबै समाधान हुन्छन,’ उनले भने । समुद्री सतहदेखि ३ हजार मिटरभन्दा पनि उचाइमा रहेको चुल्ल गाउँका बासिन्दाले जिल्लाभरिका गाउँमा बिजुली बलेको देख्न सक्छन् तर आफूहरू भने अँध्यारोमा बसेका छन् । गत स्थानीय तह निर्वाचनमा ‘उज्यालो भागेश्वर गाउँपालिका’ को नारा दिएर चुनाव जितेकाहरूले पनि यो दुर्गम गाउँमा बिजुली बाल्न सकेनन । निर्वाचनको मुखमा आएर गाउँंमा बिजुलीका पोल गाडिए तर तार कहिले तानिने हो टुंगो छैन । स्थानीयहरू पालिकादेखि जिल्ला हुँदै प्रदेशसम्म पुगे तर कुनै सुनुवाइ हुन सकेको छैन ।

पालिकाले ५ वर्षमा धेरै ठाउॅंमा कृषि उत्पादनमा वृद्धि गर्ने भन्दै अनुदान वितरण गर्‍यो तर जिल्लामात्र होइन सुदूरपश्चिमकै प्रमुख फलफूल खेती हुने यो गाउँमा नाम मात्रको सहयोग भएको गुनासो स्थानीयको छ । परम्परागत फलफूल खेती हुने यो दुर्गम गाउॅंमा व्यावसायिक रूपमा खेती गर्न सहयोग गर्ने वाचा हरेक चुनावमा भए पनि चुनाव सकिएपछि बिर्सने गरेका छन् । गत स्थानीय तह निर्वाचनपछि सडकको ट्र्याक खोल्ने काम भयो तर स्तरोन्नति हुन सकेको छैन ।

अब स्थानीयले उम्मेदवारका प्रतिवद्धताप्रति विश्वास गर्न छोडेका छन् । स्थानीय रती टमटा भन्छन् ‘०४८ पछि देउवा र अरु उम्मेदवार हाम्रो गाउॅंमा आएको सम्झना छैन  । आफ्नै नेताले त ठगे भने वाहिरकाले विकासका लागि के सहयोग गर्थे ?’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।