काठमाडौं । लगानी बोर्डले डडेल्धुरा र डोटीमा सौर्य ऊर्जा परियोजनाका लागि सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलवार बसेको लगानी बोर्डको बोर्ड बैठकले डडेल्धुराको अमगरढीमा दुई सय २५ मेगावाट र डोटीको दिपायल सिलगढीमा एक सय २५ मेगावाट क्षमताको २३ अर्ब रुपैयाँ लगानी रहेका सौर्य ऊर्जा आयोजनाको परियोजना विकास सम्बन्धतमा सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययनको अनुमति दिएको हो ।



यस्तै बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण तरिकाबाट विकास गर्न छनोट भएको प्रस्तावक कम्पनी एसजेभीएन भारतले पेस गरेका प्रारम्भिक रिपोर्ट पनि स्वीकृत गरेको छ । लगानी बोर्ड कार्यालयबाट तयार भएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानुनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको भन्दै विचार सम्भाव्यता अध्ययनसम्बन्धी कार्यहरूलाई तीव्र रूपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन समेत दिए ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे अनुसार परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवम् संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरूको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
बैठकमा अर्थ मन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरू हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

























