दीपकराज भट्टराई
डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देहीजाँत बिहिबार रतेडी र शुक्रबार दिउसेडी हुदै छ । कोरोना भाईरस संक्रमण जोखिमले गत वर्ष नित्यपुजामा सिमित देहिजाँत यस वर्ष भने पूर्ण रुपमा हुने भएको छ । मेलामा जो सुकैले पनि व्यपार व्यवसाय गर्न पाउने छन ।
यस अघि प्रशासनको निर्देशनमा व्यापार व्यवसाय रोक लगाउन भनिएको थियो । यस अघि सम्पन्न भएका मेला शैलेश्वर, कैलपालमाण्डौ, बडालजाँतमा निर्वाध रुपमा व्यापािर व्यवसाय भएकाले देहिजाँतमा पनि जो सुकैले पनि व्यपार व्यवसाय गर्न पाउने उग्रतारा क्षेत्र विकास समिती अध्यक्ष तेजबहादुर साँकीले बताए ।
बडाल मेलामा प्रमुुख जिल्ला अधिकारी, रणदल गणका गणपति लगायत सुरक्षा निकायका प्रमुखहरुले नै सहभागित जनाए पछि उग्रतरा मेला हुने व्यापार व्यवसायमा कुनै रोकतोक नलगाईने भएको हो । विगतका वर्षहरुमा एक मिटर जमिनमा पसल राख्न पाँच सय रुपैयाँका दरले स्टल बिक्रि गरिन्थ्यो । यस वर्ष पनि त्यही नियम लागु हुन सक्ने समितीका कोषाध्यक्ष श्याम ओझाले बताए । मेलामा एक हजार भन्दा बढी स्टल बिक्रि हुने गरेका छन ।
स्थानिय उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराईने छ भने भारतिय व्यापारीलाई तिन हजार सम्म शुल्क लगाईने समितीका अध्यक्ष साँकीले बताए । स्थान हेरेर पाँच सय देखि तिन हजार सम्म शुल्क तोकिएको उनको भनाई छ ।
उग्रतारामा कार्तिक शुक्ल पूर्णीमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ । रतडी पछि बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा ईत्यादी बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पुगे संगै भगवती माताको पुजन शुरु हुन्छ । साढे बजे तिर पुजन सकिए पछि भक्तजन एवं धार्मिक आस्थावानहरुलाई पुजारीले होम गरि बनाईएको तिलाख प्रशाद वितरण गरिन्छ । बिहानको पुजा आजा पछि दिउसो भगवती माताको गाँज मन्दिर लगायत सयौ एकडमा फैलिएको मैदानको बिषेश चार स्थानमा बाजागाँजाका साथ घुमाईन्छ । बिहान चार वटै गाउको भ्राणबाट ल्याईएको माताभगवतीको देउरो बेलुका पाँच बजे पछि पुनः चार वटै गाउको भ्राणमा लगे पछि मेला सम्पन्न हुन्छ ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा उग्रतारा भगवतीको मन्दिर अवस्थित छ । उग्रतारा मेला व्यपार व्यवसाय र आफन्तजन संगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ । मेलामा हराउदै गएका अन्न वाली फाँपर, भिमुर, तिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यु, सुन्तरा, मौसमी, केरा लगायत स्थानिय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ । उग्रतारा मेलामा बिक्रि वितरण गर्ने पुर्व योजनाका साथ स्थानियहरुले विभिन्न बाँस निगलाका सरसामाग्री संगै खाद्य वस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन । मेलामा भारतका विभिन्न स्थानका व्यापारिले मिठाईका परिकार बनाई बिक्रि गर्ने गर्दछन ।
किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली लागेर रगत बगे पछि देवी उत्पन्न भएर दर्शन दिईन । त्यस दिन देखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पुजा गरिँदै आएको जनश्रुति छ । देहिजातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृष्यहरु, ईष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा प्रशस्त देख्न सकिन्छ । तर भगवतीको गाथाको रुपमा गाईने डेउडा भने खेलिदैन ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा प्रबद्र्धनका लागि पनि मेला प्रसिद्ध छ । वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा प्राकृतिक प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रहीआएको छ । उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन ।