पहिरो पीडित परिवारको बिचल्ली,कष्टकर दिन बिताउन बाध्य

सेयर गर्नुहोस्

म्याग्दी : धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ। घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उनी बस्न थालेको १५ दिन भयो। असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताए।

‘‘खाना खान बसेको बेला आंगनमुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गह्रासम्म पहिरो आएपछि मैले ठुली छोरी र छोरालाई समातें, श्रीमान्ले सानो छोरी समाएर भाग्यांै,’’ उनले भने ‘‘दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायाँै । पहिरो रोकिएपछि युवा क्लवले यहाँ ल्याएर राखियो।’’

सबिनाका परिवारमा सात जना छन्। उनका श्रीमान् सन्देशले आफन्तलाई खाट मागेको र पानी नपरेको अवस्थामा घरमा गएर खानेकुरा ल्याएर खुवाउने गरेको बताए। ‘‘पानी प¥यो भने पहिरो खसिहाल्छ, घर जान सकिँदैन,’’ उनले भने ‘‘पालेको कुखुरा, साँचेको चामल, दाल पनि सकियो। करेसाको तरकारी पहिरोले पुरेको छ। आमालाई पोषिला खानेकुरा नभएर दूधले नअघाएर बच्चा रोयको रो¥यै गर्न थालेको छ।’’

दुई महिनाअघि सुत्केरी भएकी हरिमाया विक र ३ महिना अघि सुत्केरी भएकी गिरु विक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बसेका छन्। पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरु बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य भएका छन्। ‘‘पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन। त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,’’ हरिमायाले भने ‘‘पानी र चिसोले आमा छोरोनै पखला लागेर बिरामी भएका छौं।’’ राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेको स्थानीय प्रेम लामगाडेले बताए।

पहिरोको डरले राती सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन्। पहिरो पीडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन्। ‘‘खाद्यान्न, कपडा, त्रिपाल, म्याटे«स, सुरक्षित खानेपानी र सरसफाई सामग्रीको अभाव हुँदा महामारी फैलिने डर छ’’, उनले भने ‘‘सडकमा त्रिपाल टाँगेर बनाएको टहरामा नल ओछ्याएर सुतेका छौं। भुईको चिसोले निद्रा नै पर्दैन्।’’ 

पहिरोले उठिबास लगाएपछि मराङका बासिन्दाको जनजिवन कष्टकर बनेको छ। १५ दिनसम्म पनि पर्याप्त राहत सामग्री पुग्न र घरबास गुमाएकाको व्यवस्थापन हुन सकेको छैन। रिख, घण्टीवाङ र कुम्रिका पहिरो पीडितलाई आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा राखिएको छ। कल्लेनीका करिब २५ घरपरिवारलाई छिमेकी ७ नम्बर वडामा पर्ने शिवाङको हेम माविमा राखिएको छ। गाउँमा कोही नभएको समयमा घरमा राखिएका नगद, कपडा र खाद्यान्न चोरी हुन थालेको कल्लेनीका रत्नप्रसाद पुनले बताए। 

ठूलोगाउँ र खक्सीमा पहिरोको जोखिममा रहेका घरका बासिन्दा आफन्तकहाँ सुत्ने गरेको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताए। ‘बुलबाहेक वडाका सबै बस्ति पहिरोले प्रभावित भएका छन’’, उनले भने, ‘‘बर्खा अझै बाँकी छ। कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।’’ मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए। दुई जना अझै वेपत्ता छन्। 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको उल्लेख छ। नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाका अनुसार १७ घर भत्किएको र १५ घरमा आंशिक क्षति तथा ७८ घर उच्च जोखिममा छन्।

समन्वयको अभावमा निकाय पिच्छे फरक–फरक तथ्याङ्क हुँदा पीडितको पहिचान, वर्गीकरण गरि सरकारले घोषणा गरेको राहत उपलब्ध गराउन अलमल र ढिलाई भएको छ। परिवारका चार जना सदस्य गुमाएकी चनमति लामगाडेले गाउँपालिकाले दिएको दश हजार किरियाखर्च बाहेक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको राहत नपाएको गुनसो गरे।  भौगोलिक बिकटता, घोरेटोबाटो, झोलुङ्गे पुल समेत बगाएको, दाताले हेलिकप्टरबाट ल्याएको राहत ठूलो सङ्ख्याका पीडितका लागि पर्याप्त नभएको कार्यपालिकाका सदस्य तिलकुमारी केसीले बताए।  

‘‘जताततै पहिरै पहिरो गएर थुनिएका छौं, अभावै अभाव छ, समस्या नै समस्या छ’’, उनले भने, ‘‘पहिरो पीडितको सुरक्षित व्यवस्थापन गर्न नसकेर हामीलाई पीडा भएको छ ।’’ सडक अवरुद्ध र भौगोलिक विकटताको बाहनामा स्थानीय प्रशासन, प्रदेश र सङ्घीय जनप्रतिनिधि तथा सुरक्षा निकायले उदाशिनता देखाएको पहिरो पीडितको गुनासो छ। 

दाताले दिएको राहत सामग्री पनि सदरमुकाम बेनीमै थुप्रिएको छ। पहिरोले अवरुद्ध सडक, घोरेटोबाटो, विद्युत, सञ्चार र खानेपानी सुचारु गराउन र राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार तथा स्थानीय प्रहरी प्रशासनबाट सहयोगको अपेक्षा राखेको वडा अध्यक्ष सुवेदीले बताए।    रासस
 

(Visited 132 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *