सुदूरपश्चिममा रासायनिक मलको मौज्दात शुन्य

सेयर गर्नुहोस्

धनगढी-सुदूरपश्चिममा रासायनिक मलको मौज्दात शुन्य रहेको छ। धान खेतीका लागि युरिया मलको आवश्यकता भएपनि मलको मौज्दात सकिएपछि समस्या भएको छ।

रासायनिक मलको विक्रि वितरणको अधिकार पाएका कृषि सामाग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग एक किलोग्राम पनि युरिया छैन्। भारतबाट रसायनिक मल ल्याउन नपाएका किसानले डिएपी बिना धान रोपेका थिए।

अहिले रोपाइ सकिएपछि आवश्यक युरिया मल नपाएपछि उत्पादनमा कमी आउने चिन्तामा किसानहरु रहेका छन्। सुदूरपश्चिममा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन युरिया, १० हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटासको आवश्यकता पर्छ।

तर यो वर्ष कृषि सामाग्री कम्पनी लिमिटेडले ११ हजार पाँच सय ३४ मेट्रिक टन युरिया, सात हजार पाँच सय ९७ मेट्रिक टन डिएपी र दुई सय ५७ मेट्रिक टन पोटास वितरण गरेको छ। अहिले नै कृृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा मलको मौज्दात शुन्य भएको छ।

दुई सय ८० मेट्रिक टन पोटास बाहेक अन्य रासायनिक मलको मौज्दात सकिएको कृषि सामाग्री कम्पनी लिमिटेड सुदूरपश्चिमका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताए। ‘अन्य वर्षको तुलनामा यो वर्ष रासायनिक मल बढि वितरण गरेका छाँै। तर मल अहिले छैन्। भदौ सम्म आउने सम्भावना पनि छैन्। किसानहरु युरिया मलका लागि आउने गरेका छन्। मौज्दात हाम्रोमा मात्र हैन्। नेपाल भरी छैन्।’

धान गोडमेलको समय भएकाले अहिले किसानलाई युरिया मलको आवश्यकता हुन्छ। किसानले युरियाको माग गर्दै आएका छन्। तर सुदूरपश्चिममा रासायनिक मल वितरणको जिम्मा पाएका संस्थाहरुसंग मलको मौज्दात सकिएपछि उनीहरु महंगोमा मल खरिद गर्न बाध्य भएका छन्।

गोदावरी नगरपालिका वडा नम्बर ९ का किसान खेमबहादुर ठकुल्लाले धान गोडमेलको समय भएकाले युरियाको आवश्यकता भएपनि नपाएको बताए। उनले भने, ‘अहिले युरिया आवश्यक हो। तर मल छैन्। मल नभएपछि धानको उत्पादन कम हुन्छ। अनुदानको मल नपाएपछि महंगोमा मल किन्दै आएका छौँ।’

सुदूरपश्चिममा आउने रासायनिक मलमा ७० प्रतिशत कृषि सामाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पाेरेसनले सहकारी मार्फत किसानलाई वितरण गर्दै आएका छन्। साल्ट ट्रेडिङसंग पनि अहिले आवश्यक युरिया मलको मौज्दात सकिएको छ।

साल्ट ट्रेडिङले पाँच हजार ६ सय ८७ मेट्रिक टन युरिया, चार हजार सात सय ५३ मेट्रिक टन डिएपी र तीन सय ५३ मेट्रिक टन पोटास वितरण गरेको साल्ट ट्रेडिङ कर्पाेरेसनका सूचना अधिकारी रामचन्द्र जोशीले बताए।

सुदूरपश्चिममा मलको आवश्यकता कति हो ? भन्ने सरकारी निकायलाई जानकारी छ। तर पनि प्रत्येक वर्ष मलको अभाव हुँदै आएको छ। तर यस क्षेत्रबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरु भने किसानको समस्या बारे मौन छन्।

(Visited 71 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *