ऐतिहासिक अजयमेरुकोटः प्राचीन कालाको उत्कृष्ट नमूना

सेयर गर्नुहोस्

डडेल्धुरा: सुन्दर सुदूरपश्चिमको मुटुमै अवस्थित पहाडी जिल्ला हो डडेल्धुरा । जिल्लाको सदमुकामदेखि करिब एकरघण्टा पैदाल यात्रा पूरा सकेपछि देखिन्छन्, एउटा डाँडामाथि अद्धभुत् कलाकारिताबाट सुसज्जित भौतिक पूराना संरचनाहरु । अद्धितीय प्राचीन कालखण्ड भण्डार क्षेत्र अर्थात् हाँटकोट नगरी । सोही हाँटकोट नगरीमा अवस्थित ऐतिहासिक महत्व बोकेको तत्कालीन हाटकोट दरबार । यहीँ हाटकोट दरबार नै अहिले ‘अजयमेरु–कोट’ नामले अहिले आफ्नो नवीन परिचय स्थापित गरेको छ ।

जुम्लाको सिंजा राज्य इतिहासकालको एक शक्तिशाली राज्यका रूपमा अजमेरुकोटलाई स्थानीय जनसमुदायले डोटेली स्थानीय भाषामा हाटकोट भनेर प्रायःजसोले चिन्ने गर्दछन् ।

तत्कालीन जुम्ला राज्यको सिंजा उपत्यकाका प्रतापी राजाहरूले राज्य सञ्चालन र बस्ती विस्तार गर्ने क्रममा अहिलेको सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रहरुमा दरबार र बस्ती निर्माण गरेका थिए । ती दरबारहरूमध्ये दार्चुलाको उकु दरबार र डडेल्धुराको ‘अजयमेरु दरबार’ प्रमुख मानिन्छन् ।

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित हाँट गाउँ को केही तल रहेको सो स्थल नै ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको ‘अजयमेरु कोट’ । पछिल्लो राज्य पर्नुसंरचनासँगै साविकका गाविसहरुः (गाउँ विकास समिति) अजयमेरु, समैजी, भद्रपुर,चिपुर र देवल–दिव्यपूरलाई गाभेर जिल्लाकै सबैभन्दा ठूलो पालिकाको नामाकरण समेत यसै ‘अजयमेरुकोट’ को ऐतिहासिक महत्वलाई दर्शाउने गरी ‘अजयमेरु’ राखिएको छ ।

सदरमुकामबाट पश्चिमतिर एक–डेढ घण्टा पैदल मार्ग पछ्याउँदै जाँदा तल बस्ती र खेतको बीचमा प्राचीनस्थल अजयमेरुकोट देखिन्छ । अहिले मुकामदेखि अजयमेरुकोटसम्म करिब आधा घण्टामा कच्ची सडक मार्ग प्रयोग गरी मोटर गाडीमा सवार भएर चाँडो पुग्न सकिने समेत भएको छ ।

बाइसेरचौबिसे राज्यकालीन डोटी राज्यको राजधानी प्राचीन कलाको संयोजनबाट निर्मित दरबार, देबल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष, पोखरी इत्यादी आकर्षक वास्तुकलाको अनुपम आकर्षणको केन्द्र पनि हो अजयमेरुकोट ।

अजयमेरुकोटको ऐतिहासिक पृष्ठभूमि

अजयमेरुकोटको स्थापना कसले गर्‍यो भन्ने आधिकारिक दस्तावेज अहिलेसम्म एकिन नभएतापनि एकथरी भनाइ अनुसार कत्युरी राजवंशका राजा अजयपालदेवले ११ औं शताब्दीको सुरुवाततिर यो दरबारको स्थापना गरेका थिए । अजयपालको नामबाट नै अजयमेरुकोटको नामाकरण भएको हो । अजयमेरुकोटको नामाकरणको तथ्यलाई डोटी खोलाको अभिलेखले पनि प्रमाणित गर्दछ ।

अर्कोतिर स्थानीय गोरख सेठीजीको डायरीमा अजयमेरूकोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना १३ औं शताब्दीमा गरेको कुरा उल्लेख गरिएको छ भने कसै–कसैले अजयमेरुकोटको स्थापना १३ औं शताब्दीको उत्तरार्द्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयपालदेवले वि।सं। १४१९ भन्दा पहिले नै सिंजा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोटको स्थापना गरेको मान्दछन्।

कतिपयले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको कोट पनि भन्ने गर्दछन् । यद्यपी, यो कोट कत्युरी वंशजका पाल राजाहरूले नै निर्माण गरेको प्रमाणहरु भेटिन्छन् । रैका राजवंशका नागी मल्लले वि‍‍.सं. १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटको रूपमा चिनिन गएको यस ठाउँमा राजा निरय पालदेवका ताम्रपत्र र वि.स.१४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।

वि.स.१४१९ सम्म अजयमेरुकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रको कोट (दरबार) मानिन्थ्यो । वि.सं.१४४१ को अभिलेख रैका राजवंशका नाग मल्लको भेटिएका कारण वि.सं.१४४१ पछि नागी (नाग) मल्लको कोट अजयमेरु भनियो ।
वि.सं.१४१९ देखि १४४१ सम्म करिब २२ वर्ष यस कोट वरपर कुनै प्रमाणहरू नभेटिएको कारण यसबीचको अवधिमा कत्युरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मान्न सकिन्छ । यहाँको इतिहास जति खोज्यो त्यति नै पाइन्छ । इतिहासको अनुसन्धान नभएका कारण यसको एतिहासिक महत्व र सान्दर्भिकत अझै इतिहास अध्येताहरुका लागि अन्वेषणको रहस्योद्घाटन केन्द्रका रुपमा अजयमेरुको सम्भावना अधिक रहेको देखिन्छ ।

कस्तो छ कोटको भौगोलिक बनावट पृष्ठभूमि

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तुहरू छरिएर रहेका छन्। हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउला भग्न अवस्थामा छन् भने एक नाउला पानी खान प्रयोग भइरहेको छ । यस स्थानका नाउला र निरोली, रिसेडीकोट वरपर रहेका नाउलाहरूको वनौट उस्तै–उस्तै देखिन्छ ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई सर्पले बेरेजस्तै गरी गाड (नदी) ले घेरेको छ। तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न २० मिनेट उकालो डाँडामाथि ओक्लनुपर्दछ । डाँडामाथि पुगेपछि यहाँ दरबार र राजाका भाइ भारदारहरूको बस्ने हबेलीहरू अर्थात कोठाहरुका भग्नावशेष यत्रतत्र देखिन्छन् ।

अहिले दरबारको संरचना सबै भत्केको अवस्थामा रहेका छन् । दरबार बन्ने बेलामा मुख्य दरबार सात तलाको बनेको थियो। यसको सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।

यसकै छेऊतिर राजाका घोडा बाँध्ने स्थान छ। यसलाई स्थानीयहरू ‘घोलिडाँस’ ९घोडाको तबेला० भन्ने गरिन्छ । दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाढ ९नदी० भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमिनभित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा सूर्यको प्रकाश परोस् भन्ने हेतुले बनाइएका २५ वटा झ्यालसहितको प्राचीन सिँढी रहेका छन् ।

यी सबै शिल्पकलाहरू उत्तरी भारतबाट आएका ‘जाड’ जातिका शिल्पकारहरूले बनाएको हो भन्ने मान्यता रहिआएको छ । जो कत्युरी राजाहरूसँगै यहाँ आएका थिए भनिन्छ, ती शिल्पकारहरु ठूला–ठूला ज्यान भएका भयङ्कर हट्टाकट्टा थिए। स्थानीयको दाबीअनुसार केही वर्ष अगाडिसम्म खेतीपाती गर्ने भुभागमा ती ‘जाड’ जातिका शिल्पकारमध्ये कसै एक जनाको पुरानो गाडिएको अस्थिपञ्जर भेटिएको थियो रे । जसको खुट्टाको नलिहाडमा मात्रै ७ माना कोदो अटाएको थियो। यो कोट बनाउँदा अमरगढी नगरपालिका अन्तर्गत सुनेडा भन्ने स्थानबाट तलिगाँ भन्ने ठाउँमा जाने बाटोको दक्षिणतर्फ रहेको ‘हिराखानी’ भन्ने स्थानबाट ढुङ्गा ल्याएर बनाइएको भनेर भनिन्छ ।

कोटस्थलदेखि तल गाडका किनारमा दरबारका मान्छेहरूको बैठकस्थल छ । यसलाई स्थानीयहरू ‘ओखडेकी माँडौ’ भन्ने गर्दछन्। त्यसको केहीमाथि चेतराम नाथको घर नजिकै दुई वटा देवल छन्। नाथको घर तल वैलवाटा भन्ने खेतको नाम करपुटार खेत रहेको छ र यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउलाहरू समेत रहेका छन् ।

कोटसँग जोडिएको किंवदन्ती

यहाँका तीन नाउलामध्ये एक ‘नाउला ’ मा खेतमा रोपाइँ भइरहेको अवस्थामा बल्लहरू जुवा र मोहीसहित आएर पानी खाँदा त्यहीँ डुबे भन्ने किंवदन्ती रहेको छ । यस करपुटार खेतको गाडतर्फ खेतको किनारमा भैरौँ (भैरव) देवताको थान छ ।

यो भैरौं देवता तिनै जाड शिल्पकारका पालामा स्थापना गरिएको हो । यहाँका प्रमुख दैवीय शक्तिपिठका रुपमा श्री वीर–वेताल, र श्री समैजी देवता पनि छन्। अजैमरुकोट अवस्थित भूभाग स्थानीय देवशक्ति विभाजनको हिसाबले बेताल देवताको अन्तर्गत पर्ने गर्दछ । अजैमरुकोटको दक्षिणतर्फ गाड ९खेला० देखि पारीपट्टी ‘खजाना–कोट’ रहेको छ ।

कोटस्थलको एक किनारमा नागी मल्लद्वारा धामी नचाउने र तल गाड -नदी मा फाल्ने ढुंङ्गाको खलो छ । दरबार रहेको स्थानदेखि केही वर डाँडामा एक चाक्लो ढुङ्गा र त्यसमा निगालाको मोट्टो राख्ने र त्यसमाथि धेरै संख्यामा कालिगेडा ९रिठाका भित्र रहेका कालाकाला दानाहरू० राख्ने गरिन्थ्यो । यी कालिगेडामाथि काँसको थाल राखेर त्यो माथि धामी बसेर नाच्नु पर्ने हुन्थ्यो । यसरी नाच्दा त्यो बसेको स्थान गाडीको चक्का हिँडे जस्तै यताउता सर्ने र बसेको मान्छे धामी काँप्दा पहरोमा खसेर मर्ने गर्दर्थे । यस प्रकार धेरै देवताका धामीहरू मरेका थिए।

यही क्रममा वेताल देवताको पालो आएको र श्री बेताल देवताको धामी बोहरा थरका व्यक्ति थिए। ती बुढा थिए, तिनलाई बेतालको धामी आयो । बेताल देवताको शक्तिले त्यहाँका सबै ढुङ्गा, मोट्टो, कालिगेडा र थालीलाई जाम गरिदियो र यसै समयबाट नागी मल्लले धामी लाई पैरोमा खसालेर मार्ने कपटीपूर्ण कृत्य रोकिएको थियो भन्ने स्थानीयहरुमा जनविश्वास रहेको पाइन्छ । पछि यस्तै प्रकारको शक्ति समैजी, भागेश्वर, घटाल र उग्रताराका धामी काम्दा पनि देखियो भनिन्छ ।

कसरी भयो राजा नागि मल्लको पतन ?

अजयमेरुको परिचयसँगै राजा नागि मल्लको व्यक्तिगत इतिहासले थप रोचकतालाई उत्सुकतायुक्त बनाउँदछ । विशेषगरी अजयमेरुकोटमा नागि मल्लको छाप गहिरो रुपमा परेको पाइन्छ । कत्युरी राजवंशका पाल राजाहरूको प्रभुत्व समाप्त गरिसकेपछि आफ्नो राज्यकालमा यस क्षेत्रमा नागी मल्लले ठूलो क्रुरता देखाएको र भ्रष्ट राजाको रुपमा आफूलाई प्रकटीकरण गरेको देखिन्छ ।

देवीदेवताहरूमाथि आफ्नो बस चलाउन खोज्ने, यस क्षेत्रका देवताहरूभन्दा ठूलो म हुँ भनी देवीरदेवताहरूसँग शक्ति प्रदर्शन गर्ने, अपमान गर्ने, देवीरदेवतालाई चढाइने अंश सर्वप्रथम आफूलाई चढाउन लगाउने, यहाँका प्रजाहरू (जनता) लाई देवताको पूजाअर्चना गर्न नदिने, मन्दिर मूर्तिहरू तोड्न लगाउने, देवताका पुजारी–धामीहरूको अपमान गर्ने, भिरको टुप्पोमा धामी काप्न(देउता बोलाउन) लगाउने र खसालेर गाड (नदीमा) फाल्ने अनि मार्ने, कपटपूर्ण इन्द्रजालको शक्तिद्वारा सबै देवताहरूलाई बसमा पार्न खोज्ने, राज्यका चेलिबेटीमाथि करणी गर्ने, कसैले नवविवाह गरेमा पहिलो रात आफू भोग गर्नेजस्ता कुकर्महरू गरी प्रजालाई दुःख दिएको पाइन्छ।

नागी मल्लले १४४१ देखि १४५० सम्म जम्मा ९ वर्ष शासन गरेको देखिन्छ। देवीदेवताहरूमाथि धेरै ज्यादती गरिसकेपछि शासनको अन्त्यतिर यो क्षेत्रका ठूला देवताहरू भागेश्वर, बेताल, समैजी, उग्रतारा आदिको श्राप लागेर नागी मल्लले ठूलो दुःख पाएको किम्बदन्ती रहेको छ ।

खाना खाए चामलको किरा भैदिने, दुध रगत भइदिने, राति सुत्नेबेला खटिया उल्टा फर्किदिने, दरबार हल्लिने र शरीर पूरै कुष्ठरोगले ग्रसित भएको भनिन्छ। खासगरी यो सब प्रक्रिया भागेश्वर देवताकी बहिनी डागेश्वरीदेवीको अपमानपछि उनले भागेश्वर देवतालाई गुनासो गरिसकेपछि सुरू भएको हो भनिन्छ । त्यसपश्चात नागि मल्लले तत्काल देवी डागेश्वरीको मन्दिर निर्माण गर्न परेको किम्बदन्ती छ । आफूलाई सन्चो होस् भनेर अन्तिमतिर सबै देवीदेवताका मन्दिर बनाउने, घण्टा चढाउने, देउकी चढाउने आदि विकासका कामहरू गरेको देखिन्छ ।

अन्यमा नागि मल्लको ज्यादती र प्रभुत्व चन्द राजवंशका कुल्लेककोटका महाराजा रन्धौलाद्वारा समाप्त भएको चन्द वंशको इतिहासमा उल्लेख छ । अजयमेरूबाट नागी मल्लको प्रभुत्व समाप्त भइसकेपछि यस स्थानलाई केन्द्र मानेर कसैले पनि राज्य गरेको देखिँदैन । आफ्नो प्रभुत्व समाप्त भएपछि राजा नागी मल्ल बझाङ राज्यमा सरण लिन पुगेको देखिन्छ । जसको प्रमाण बझाङमा भएका हालका नागि मल्लका सन्तानहरू हुन्।

तर, स्थानीय जनकार भने नागि मल्लको विवाहिता रानीपट्टीबाट आफ्नो कुनै सन्तान नभएको बताउँछन् । विवाहिता रानीबाट कुनै सन्तान नभएको तर नोकरानी र रखैलपट्टीका सन्तानहरू डडेल्धुरा अजयमेरुकै गुनपालको धामीगाउँमा र बझाङको बुंगललगायतका गाउँमा रहेको जानकारीमा आउँछ ।

उनको विवाहिता रानीपट्टीबाट एउटा छोरी रहेको र उनको विवाह भारतको रुपेडिया नजिकका जाटकुमारसँग भएको मानिन्छ । उनका सन्तान अहिले रुपेडियाकै आसपास भेटिन्छन्।

ऐतिहासिक मल्लकालीन उत्कृष्ट कलाकारिताको नमूना

यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनको लागि प्रसिद्ध छ । प्रायः पर्यटकहरू यस दरबारको अवलोकन गर्न वैशाख, जेठ महिनामा आउँदछन् । त्यसैगरी, यहाँ पुरातात्विक उत्खनन र अध्ययनको लागि पनि विज्ञहरू आउँदछन्। यस स्थलमा वार्षिक अनुमानित ८ देखि ९ हजारसम्म मानिसहरूले भ्रमण गर्ने गरेकामा कोभिड यता आउँनेक्रम रोकिएको छ । कोभिडको त्रासदिपूर्व आन्तरित तथा बाह्य पर्यटकहरुको भिड नै लाग्ने गएको देखिन्थ्यो । अहिले अजयमेरुको सुमसाम जस्तै बनेको छ । मनमोहक दृष्यसहितको सुसज्जित अजयमेरुकोटका खास विशेषताहरूे विशाल चट्टानमाथि करिब ५ रोपनीको थुंकोमा रहेको किल्लाको अवशेष तिनतिर मजारगाड (खोला) ले घेरिएको मध्यकालीन किल्ला र वास्तुकलालाई प्रमुख रुपमा लगिन्छ ।

यस्ता सम्पदाहरू नै नलेखिएको इतिहासका खुला अध्ययन गर्ने किताब हुन्। इतिहासका धरोहरहरूको संरक्षण र प्रवर्द्धनले नै पर्यटन विकास सम्भव छ र नेपालको सन्दर्भमा पर्यटनको विकासले मात्रै तीब्र आर्थिक समृद्धि सम्भव छ । यस सुदूरपश्चिम क्षेत्रको गौरवमय इतिहास बोकेका यस्ता धरोहरहरूको संरक्षण तथा प्रवर्द्वन आजको चुनौतीको विषयमा रहेको छ । स्थानीय, प्रदेश तथा संघ सरकारबाट यथोचित ध्यान र प्राथमिकतामा पर्न नसक्दा प्रचुर पर्यटकीय सम्भावनाको थलो बन्न सक्ने अयजयमेरुको अहिले ओझेलमा पर्नु विडम्बना भएको स्थानीयहरुको ठम्याइ छ ।

के भन्छन् स्थानीय जनसमुदाय

अजयमेरू क्षेत्रको अवलोकन र अध्ययन राज्यस्तरको पहलबाटै गरिकन राष्ट्रिय सम्पदाको सूद्बीको अग्रपंक्तिमा यसको नाम हुनुपर्ने भएतापनि अजयमेरुदेखि अझै सबै अनभिज्ञ नै हुनुमा मूख्य कारक प्रचारप्रसारको अभाव रहेको छ । विश्वभर अजयमेरुकोटको मौलिक पहिचान र इतिहासिक महत्वलाई उजागर गर्नका लागि यहाँको स्थानीय अजयमेरु सरकारले चासो र सक्रियता अझै देखाउन नसकेको बताउँछन् अजयमेरु २ का स्थानीय यूवा चन्द्र ऐर । विशेषगरी युवापिंढीले यसतर्फ विशेष ध्यान दिइकन विकासमा खट्नुपर्ने र यस क्षेत्रको बढी भन्दा बढी प्रचार–प्रसार र प्रवर्द्वन गर्ने कार्यमा जुट्न ढिला गर्न नहुनेमा यूवा ऐर जोड दिन्छन् ।

यस क्षेत्रलाई सुदूरपश्चिमको मात्र नभई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । पुरातत्व विभागद्वारा यस क्षेत्रको शीघ्र उत्खनन् गराउनु र भग्न अवस्थामा रहेका धरोहरहरूको पुनर्निर्माण र सम्वर्द्धन गर्न मुख्यतया स्थानीय तहले अग्रसरता लिनुपर्ने बताउँछन् स्थानीय जनसमुदाय ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यस्ता पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने संघ–संगठनहरूलाई यसको जिम्मेवारी लिनुपर्ने बताउँछन् महेन्द्र नमूना उच्च माध्यमिक विद्यालय खलंगामा अध्यापन गर्दै आएका शिक्षक सुरेन्द्र भट्ट ।

पहाडका कुना कन्दारामा लुकेर रहेका यस्ता सम्पदाहरूको संरक्षण हुनु र ऐतिहासिक क्षेत्रको प्रवर्द्धन भई पर्यटनमा विकास हुने उल्लेख गर्दै शिक्षक भट्टले पहाडी जिल्लामा आर्थिक विकास र अर्थतन्त्रमा सहजीकरण,यहाँको व्यापार व्यवसायमा वृद्धि, पर्यटन विकासमा यहाँकै स्थानीको प्रमुख भुमिका रहन्छ। यस ठाउँको अवलोकन गर्न आउने पर्यटकहरूको उचित स्वागत सत्कार गरी उपयुक्त बसाइको उचित व्यवस्थापन गरिदिने र अजयमेरुकोटको सम्पूर्ण जानकारीसहित सम्पदाहरूको अवलोकन गराइदिने समन्वयात्मक र सहयोगात्मक भूमिका स्थानीयले नै खेल्नुपर्ने र त्यसको प्रचार प्रसार राज्यले विशेष गरी स्थानीय सरकारले कदम अगाडि लिनुपर्छ, उनले भने ।

कोट संरक्षणमा स्थानीय सरकारको भूमिका

गाउँपालिकाले अहिलेसम्म कच्ची बाटो बनाउने काम सम्पन्न गरेको छ । यस्तै, कोट रहेको क्षेत्र लाई चारै तिरबाट पक्की घरेबार गरेको देखिन्छ । यसकासाथै केही वर्ष अगाडि महोत्सव आयोजना गरेतापनि प्रभावकारीता संयोजन भएको देखिदैन् । अहिले यहाँ अजयमेरु कोट सेल्फी प्वाइन्ट बनाइएको छ । यसबाहेक स्थानीय तहले अन्य विविध आयाममा गर्नपर्ने अध्ययन अनुसन्धान र पर्यटकीय विविधालाई प्रसय दिन उल्लेख्य भूमिका निर्वाह भने गर्न सकेको छैन् ।

अयमेरुकोटको विकास गाउँपालिकाले संघ र प्रदेश सरकारसँग बजेट विनियोजनका लागि पहल गर्दै आएको केही बजेट छुट्याएर त्यहाँको भौतिक संरक्षणका लागि अधिकतम् प्रयास गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले बताए ।

अजयमेरुको प्रचारप्रसारका लागि विगतमा सोही कोटमा महोत्सव आयोजना गरिएको स्मरण गर्दै पालिका तर्फबाट संरक्षण समिति नै गठन गरी त्यसको संरक्षरण सम्बद्र्धनमा विशेष ध्यान दिएर गुरुयोजना निर्माण गरी संरक्षण कार्य अगाडि बढाइएको अध्यक्षको भनाइ छ । ‘अजयमेरुकोट विकास र प्रबद्र्धन हाम्रो उच्च प्राथमिकतामा छ, हामीले गुरुयोजना नै बनाएर अजयमेरुकोट संरक्षण र सम्बद्र्धनको दायित्वलाई आत्मसात् गरेको अवस्था हो, संघ र प्रदेशबाट पनि केही बजेट आएको छ, र भौतिक संरचनाको संरक्षणमा जुटिएका छौँ’ उनले भने ।

May be an image of 5 people and temple

पर्यटनमैत्री स्थानीयले वातावरण निर्माण गर्न सकेको खण्डमा अजयमेरुकोट जहाँ प्राचीन कलाको उत्कृष्ट नमूना देख्न सकिने एतिहासिक तथा पुरात्त्वातिक अयमेरुकोटसँगै यस क्षेत्रको रहनसहन, भाषा, कला, संस्कृति र असल सभ्यता, चाडपर्वको समेत विकास तथा प्रचार–प्रसारमा बढोत्तरी आउने देखिन्छ ।

अहिले आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा रहेको ऐतिहासिक महत्व सँगालेको यस कोटको उचित संरक्षण र संम्बद्र्धनसँगै व्यावसायिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिए थोरै ज्यालादारीका लागि भारी संख्यामा भारत जान लर्को लाग्ने स्थानीय यूवाहरुले स्वदेशमै रोजगारी पाउने वातावरण बन्नुकासाथै गाउँपालिकाकै समग्र सामाजिक–आर्थिक उत्थानमा महत्वपूर्ण कसि बन्न सक्ने देखिन्छ ।

स्थानीय जनप्रतिनिधिले सबल इच्छाशक्तिकासाथ स्पष्ट कार्यक्रम सहित कार्यन्वयन गर्ने संकल्प गरेको खण्डमा ओझेलमा परेको अजयमेरुकोटले यहाँको विकासमा छोटो समयमै कायापलट हुन सक्नेमा भने शंका नरहेको अधिकांशको बुझाइ छ ।

(Visited 81 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *