सुदूरपश्चिममा संक्रमितको संख्या ५ हजार नाघ्यो, आज थप २७ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, ह्याम्पस अस्पताल काठमाडौँ र शिक्षण अस्पतालमा भएको परीक्षणमा आज २७ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १३ सहित २४ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा पाँच सय ६३ जनाको कोरोना परीक्षण भएको बताउँदै कैलालीका १३ र कञ्चनपुरका ११ जनामा संक्रमण देखिएको जानकारी दिए।

उनले कैलालीको टीकापुर नगरपालिकाका चार पुरुष र दुई महिला गरी ६ जना धनगढी उप–महानगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जना, भजनी नगरपालिकाका दुई पुरुष, गोदावरी नगरपालिकाका एक पुरुष र एक महिला गरी दुई जनामा कोरोना पुष्टि भएको बताए।

सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको वेदकोट नगरपालिकाका ६ महिला र तनि पुरुष गरी नौ जना र पुर्नवास नगरपालिका एक महिला र एक पुरुष गरी दुईजनामा संक्रमण देखिएको  बताए। उता काठमाडौँमा भएको परीक्षणमा पनि कैलाली र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर प्रसाद गौतमले ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका दुई गरी तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। प्रदेशमा संक्रमितको संख्या पाँच हजार २१ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय ७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *