डडेल्धुरा – डडेलधुरामा बदेलले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका–५ जिलोडा गाउँमा आइतबार बिहान बदेलले महिलालाई आक्रमण गरेको हो । बदेलको आक्रमणबाट ४३ वर्षीया कमला ओझा घाइते भएकी हुन् ।
आईतबार बिहान ११ बजेको समयमा घर नजिकै घाँस काट्न जाँदा उनलाई बदेलले आक्रमण गरेको स्थानीय भीम साउँदले बताए । उनको पेट, छाती, हात र खुट्टामा गहिरो चोट लागेको छ । अहिले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिलोडा र सेलागाउँमा बदेलको आक्रमणबाट बर्सेनि स्थानीय घाइते हुने गरेका छन् । बाटोमा हिड्दै गर्दा समेत बदेलले आक्रमण गर्ने गरेको स्थानीय यज्ञराज अवस्थीले बताए । बदेलको आक्रमणबाट अहिलेसम्म दर्जन बढी स्थानीय घाइते भएको उनको भनाई छ ।
मानवलाई नै आक्रमण गर्ने गरे पनि बदेल नियन्त्रण र आक्रमणबाट जोगिन स्थानीयसंग कुनै उपाय छैन । स्थानीय सरकार लगायत सरोकारवाला निकायले पनि यसको कुनै विकल्प दिन सकेका छैनन् ।
