बैतडीमा भदौ ४ गतेदेखि लकडाउन गरिने

सेयर गर्नुहोस्

बैतडी । कोरोनाको संक्रमण बढ्दै गएपछि बैतडीमा भदौ ४ गतेदेखि लकडाउन गरिने भएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले संक्रमण बढ्दै गएको भन्दै भदौ ४ गतेदेखि भदौ १५ गते लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउन अवधिका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। लकडाउनमा नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साध मात्रै सञ्चालन गर्न दिने निर्णय भएको छ। 

नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीन दिनमात्रै खुला राख्ने निर्णय भएको छ। गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरु बिहान ७ देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुला राख्ने निर्णय गरिएको छ। 

यस्तै, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा,मेला स्थगित गरिएका छन्। चाडपर्वहरू आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ। नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारहरूमा रोक लगाइएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ। 

नगरपालिका र ११ वटै वडा कार्यालयहरूले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने सूचनामा उल्लेख छ। गौरा, तीज लगायतका चाडपर्वका बेला सदरमुकाम क्षेत्रमा अरु पालिकाको भन्दा बढी भीडभाड हुने भएकोले लकडाउन गर्ने निर्णय गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्।

यस्तै, डिलाशैनी गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण बढिरहेकाले भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ। गौरा पर्व नजिक आइरहेको सन्दर्भमा दैनिक नित्य पूजाआजा बाहेक भीडभाड हुने खालका धार्मिक कार्यक्रम नगर्न अनुरोध गरेको छ।  बैतडीमा हालसम्म ३२३ जनामा कोरोना पुष्टि भएको छ र ४ जना सक्रिय संक्रमित रहेका छन्।

(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *