डडेलधुरा मेडिकल कलेज स्थापनाको प्रक्रिया नै अलपत्र

सेयर गर्नुहोस्

डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ
डिन नियुक्ति भए पनि विश्वविद्यालयले अहिलेसम्म कार्यालयमा कर्मचारी पठाएको छैन
डीआर पन्त

डडेलधुरा — सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लालाई लक्षित गरी सरकारले डडेलधुरामा स्थापना गर्ने भनेको मेडिकल कलेजको निर्माण प्रक्रिया अलपत्र परेको छ । सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको लापरबाहीका कारण आर्थिक स्रोत हुँदाहुँदै पनि मेडिकल कलेज निर्माण प्रक्रिया अलपत्र परेको हो । विश्वविद्यालय प्रशासनले नीतिगत निर्णय र कलेजसम्बन्धी कानुनी प्रक्रियामा गरिरहेको ढिलाइका कारण मेडिकल कलेज स्थापनाको प्रक्रिया नै अलपत्र परेको छ ।

एक वर्षअघि मन्त्रिपरिषद्ले डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरी प्रक्रिया सुरु गरेको थियो । कलेज स्थापनाका लागि डडेलधुराको पारा मेडिकलको ८४ रोपनी र संघीय अस्पतालको १ सय ५६ रोपनी जग्गा र अस्पतालसँग जोडिएको थप १ सय ९१ रोपनी जग्गा व्यवस्थापन भइसकेको छ ।
मेडिकल कलेजका लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिका संयोजक अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले विश्वविद्यालयले काम सुरु गर्न नसक्दा समस्या देखिएको बताए । त्यसबाहेक डिनको कार्यालय स्थापना गरी डिनसमेत नियुक्ति गरेपछि विश्वविद्यालयले अन्य प्रक्रियामा ढिलाइ गरेका कारण निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।
‘डिन नियुक्ति भयो, कार्यालयका लागि भवन पनि लिइयो तर अन्य प्रक्रिया अगाडि बढ्न सकेको छैन’ कलेज स्थापनाका लागि नियुक्त भएका डिन हेमन्तनाथ जोशीले भने, ‘कार्यालयका लागि भवन भाडामा लिने कामबाहेक आवश्यक कर्मचारी पदपूर्तिसमेत हुन सकेको छैन ।’ आफू त्यसैका लागि विश्वविद्यालयमा आइपुगेको र आवश्यक प्रक्रिया सुरु गर्न विश्वविद्यालय पदाधिकारीसँग छलफल गर्ने पनि उनले बताए । विश्वविद्यालय अनुदान आयोगसँग पनि यस विषयमा छलफल भइरहेको पनि डिन जोशीले बताए ।
कात्तिकमा डिन नियुक्ति भए पनि विश्वविद्यालयले अहिलेसम्म डिन कार्यालयमा कर्मचारीसमेत पठाएको छैन । ‘भाडामा लिएको भवन र एक जना डिनबाहेक कलेज स्थापनाका लागि आवश्यक प्रक्रियासमेत सुरु हुन सकेको छैन’ मेडिकल कलेज स्थापनाका अभियन्ता इन्जिनियर प्रमोद जोशीले भने, ‘कलेजको डीपीआरसमेत बन्न सकेको छैन ।’
कलेज स्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले पटक पटक डडेलधुरा भ्रमण मात्र गरे तर काम सुरु गर्न नसकेको पनि उनले गुनासो गरे । सरकारले बजेट छुट्याएको छ, डीपीआर निर्माणका लागि एक करोड बजेट विश्वविद्यालयमा आइसकेको छ । तर कलेज स्थापनाका लागि कुनै पनि प्रगति नभएका कारण अहिलेसम्म सरकारले छुट्याएको ४४ करोड बजेट विश्वविद्यालयले लिन सकेको छैन ।
विश्वविद्यालयको आर्थिक प्रशासन महाशाखाका अनुसार अहिलेसम्म कलेजको डीपीआर नै तयार भएको छैन । कलेजको आवश्यक नीतिनियम र पाठ्यक्रम निर्माणका लागि नियुक्त भएका डिन जोशीले आवश्यक काम सुरु गरे पनि डिन कार्यालयले समेत पूर्णता पाउन सकेको छैन ।
सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक प्रशासन महाशाखाका प्रमुख अशोक भण्डारीले भने मेडिकल कलेजको स्थापनाका लागि विश्वविद्यालयले आवश्यक तयारी गरिरहेको वताए । ‘आवश्यक तयारी चलिरहेको छ’ भण्डारीले भने, ‘विश्वविद्यालयले यससम्बन्धी कारबाही अगाडि बढाइसकेको छ ।’
विश्वविद्यालय पदाधिकारीहरूले भने कलेज सञ्चालनमा त्यति धेरै चासो राखेको देखिएको छैन । विश्वविद्यालयका एक उच्च प्रशासनिक अधिकारी भन्छन्, ‘जग्गाको व्यवस्थापन भइसकेको छ । बजेटको व्यवस्था भएको छ । विश्वविद्यालयसँग आफ्नो स्रोत पनि छ तर पनि कार्यक्रम अगाडि बढ्न सकेको छैन ।’ विश्वविद्यालय पदाधिकारीहरूले ध्यान नपुर्‍याउँदा अर्को वर्षदेखि पढाइ नै सुरु गर्न सकिने कलेज अलपत्र अवस्थामा पुगेको पनि ती अधिकारीले बताए ।

विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक भने समय अभाव र अरू काममा अल्झिएका कारण त्यतातिर ध्यान दिन नसकेको बताउँछन् । ‘कानुनी तथा आर्थिक समस्या भएको होइन,’ पाठकले भने । ‘एकै पटक सबै कुरा सम्भव हुँदैन, उनले भने, ‘विश्वविद्यालयमा कर्मचारी अभाव र विभिन्न व्यवस्थापकीय कारणले मात्र ढिलाइ भएको हो ।’

आर्थिक व्यवस्थापन हुँदाहुँदै पनि डीपीआरसमेत बन्न नसक्नु र डिनको कार्यालयसमेत व्यवस्थापन गर्नमा ढिलाइ गर्नुले डडेलधुरावासी र मेडिकल कलेज अभियन्ता भने सशंकित भएका छन् । ‘डीपीआर तयार गरी आवश्यक भवन निर्माण सुरु गरेपछि एमडीको अध्ययन आउँदो वर्ष नै सुरु गर्न सकिने अवस्था हो’ एक चिकित्सक भन्छन, ‘तत्कालका लागि डडेलधुरा क्याम्पसका भवन छन्, संघीय अस्पतालभित्र धेरै भवन खाली नै छन् तर विश्वविद्यालय पदाधिकारीको उदासीनताका कारण कलेज स्थापनामा ढिलाइ भइरहेको छ ।’

(Visited 28 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *