जब सिडियोले यो समस्या लिएर नआउनु भने…

सेयर गर्नुहोस्

असार २६ गते परेको ठुलो वर्षाले पहिरो जाने र जमिन चिरा परेर फाट्न थालेपछि बस्न नसक्ने जानकारी स्थानीयले प्रशासनलाई गारउँदै बस्ती सारिदिन अनुरोध गरेका थिए ।

माथीबाट पहिरो जान र तलबाट जमिन भासीन थालेपछि सिन्धुपाल्चोक जुगल २ नाम्फा र लिदीको एकसय ४९ घर पहिरोसँगै बग्न सक्छ भन्ने अनुमान उनीहरुले पहिले नै गरेका थिए ।

सोही अनुसार उनीहरुले पटक, पटक प्रशासनलाई आग्रह गरे । तर स्थानीय कुरा सुनुवाई भएन र ३७ घर पुरियो । घरमात्रै पुरिएन, ११ जनाको मृत्यु भयो भने २७ जना बेपत्ता भएका छन् ।

२०७२ सालको भूकम्पपछि विज्ञहरूले गरेको अध्ययनले नै त्यो बस्ती बस्नका लागि अयोग्य भनिसकेको थियो ।

यस वर्ष पनि लिदिबासीले बस्ती सारिदिन पटक–पटक आग्रह गर्दै आएका थिए । गाउँमै बसेर जोखिमको बारेमा गरार्ईएको जानकारीमा प्रशासनले चासो नदेखाएपछि उनीहरू आठ घण्टा पैदल हिँडेर असार २७ गते सदरमुकाम आइपुगेका थिए ।

रेडियो सिन्धुको स्टुडियोमा बसेर लिदिबासीले प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई आफ्नो बस्तीको समस्या समाधानमा तत्काल पहल गरिदिन अनुरोध गरे ।

नागरिकको गूनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी ढकाल मार्फत प्रहरी, वडा र पालिकासँग समन्य गरेर तत्काललाई त्रिपाल र कम्बल दिएर झारो टार्ने काम भयो । जीवनको सुरक्षा खोज्दै प्रशासन गुहार्न आइपुगेका स्थानीयलाई प्रमुख जिल्ला अधिकारीले अब यस्ता समस्या लिएर नआउन भनेपछि उनीहरू निराश भएर फर्किए ।

त्यसको केही दिनपछि स्थानीय बिष्णु लामाले पुनः प्रशासनलाई जानकारी गराएर हामीसँग पनि गुनासो राख्नुभएको थियो ।

लामाले भन्नुभयो, ‘अझैपनि बस्तीमा पहिरोको जानसक्ने सम्भावना छ, त्यसमा प्रशासनको तर्फबाट वा भूगर्वविद्को तर्फबाट निरीक्षण गरिदिनुभयो भने राम्रो हुनेथियो । हामीले भनेको कुरा उहाँहरूलाई होइन भन्ने लाग्छ भने स्थलगत नै हेरिदिनुभए हुनेथियो ।’

एक महिनाको बिचमा उनीहरूले कहिले जुगल गाउँपालिकाका जनप्रतिनिधि, कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी त कहिले सांसद र नेता, सबैतिर समस्या सुनाइसकेका थिए । तर उनीहरूको समस्याको समाधानमा कसैले चासो देखाएनन् ।

अन्य विकल्प नभएपछि उनीहरू दिनरात त्रासमा धाजा फाटेको बस्तीमा बस्न बाध्य भए । र, अन्ततः पहिरोले बस्ती नै बगायो । बस्ती नबग्दै बारबार आग्रह गर्दा कसैले सुनेनन् । पहिरो गएपछि हेलिकप्टर लिएर पुगेका नेताहरुसँग स्थानीयले आक्रोश पोखेका छन् ।

स्थानीयले बलेफी खोलामा निर्माणाधिन ३६ मेगावाटको अपर बलेफी हाईड्रोपावरको लागि सुरुङ खन्दा गाउँ पहिरोले बगाएको गुनासो गरेका छन् ।

उनीहरूले बाक्लो बस्ती तल सुरुङ नखन्न गाउँपालिकालाई निवेदन पनि दिएका थिए । तर उनीहरूको यो कुरा सुनुवाई भएन । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो, ‘दुःख परेपछि किन व्यवस्था नगरेको भन्ने हुन्छ, त्यतिबेलाचाहिँ जनताको थातथलोमा त्यही घर बनाएर राहत किन नदिएको ? भन्ने कुरा भएर फेरि यही बस्ने परिस्थित सृजना भएको हो ।’

स्थानीय बासिन्दाले आफ्नो गाउँमा पहिरोको जोखिम छ र कुनै पनि दिन जनधनको क्षति हुन्छ भनेर बारम्बार जानकारी गराउँदा पनि सम्बद्ध निकायले नसुन्दा बस्तीले ठूलो मानवीय क्षति बेहोर्नु परेको छ ।  

(Visited 49 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *