गाँजाका डाँठबाट २२ कोठे घर

सेयर गर्नुहोस्

गाँजाको डाँठका टुक्रा मिसाएर बन्दै गरेको गोपाल शेर्पाको घर।गाँजाको डाँठका टुक्रा मिसाएर बन्दै गरेको गोपाल शेर्पाको घर।
गत साता संसद बैठकमा नेकपा सांसद विरोध खतिवडाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने तर्क राखेसँगै यसबारे बहस सुरू भएको छ। गाँजा लागुपदार्थ नभएर बहुउपयोगी प्राकृतिक स्रोत भएकाले प्रतिबन्ध फुकुवा गरे हामीलाई धेरै आर्थिक लाभ हुनेछ। विश्वका सम्पन्न मुलुकले यो प्रमाणित पनि गरिसकेका छन्।
गाँजाको औषधिजन्य गुणबाहेक अन्य सम्भावना खोजी गर्ने क्रममा सिन्धुपाल्चोकको हेलम्बुमा गाँजाको बोट (हेम्प) बाट घरै बन्दै गरेको देखियो। हेलम्बु गाँउपालिका–२, शेर्माथानका गोपाल शेर्पाले गाँजाको डाँठ प्रयोग गरेर घर बनाइरहेका छन्। पर्यटकीय स्थल शेर्माथानमा पर्यटकलाई होमस्टे सुविधा दिने गरी घर बनाइएको गोपालले जानकारी दिए।
गोपालका अनुसार घर चार तल्लाको हुनेछ। शौचालय र बाथरुमबाहेक २२ कोठा हुनेछन्।
यो घरको पिलर, बिम, ढलान र भर्याङ भने आरसिसि (कंक्रिट) मोडलबाट बनाइएको छ। घरमा १२ इन्चको मात्र पर्खाल राख्न मिल्ने ठाउँ भएकाले गोपालले घरको पार्टेसन र शौचालय भने सिमेन्ट ब्लकको बनाएका छन्। घरको बाहिरी पर्खालमा गाँजाका डाँठ प्रयोग गरिएको छ। गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए जसरी उक्त पर्खाल लगाइएको छ।
गोपालका अनुसार घर निर्माणमा आवश्यक १२ टन गाँजाका डाँठ बझाङबाट ल्याइएको हो। बझाङमा उत्पादन भएको गाँजाको बोटबाट गाँउपालिकको रोहवरमा लागुपदार्थजन्य मानिने सामग्री हटाएर त्यहीँ नष्ट गरिएको थियो। गाँउपालिकाले लागुपदार्थ नभएको किटानी दिएपछि सोही सिफारिसका आधारमा जनकपुरमा ल्याएर सो डाँठलाई मेसिनको सहायताबाट टुक्रा गरिएको थियो।
एक इन्चभन्दा सानो टुक्रा गरिएको सो डाँठ १२ चक्के ट्रकमा सिन्धुपाल्चोकको मेलम्चीसम्म ल्याएको गोपालले बताए। तौल कम भए पनि आयतन बढी भएकाले एकपटकमा तीन टन डाँठका टुक्रामात्रै मेलम्ची आइपुगेको थियो। मेलम्चीबाट चार चक्के ट्रकबाट शेर्माथानसम्म ढुवानी गरिएको थियो। खरिदभन्दा ढुवानीमा बढी लागत तिर्नुपरेको गोपालले बताए।
‘हामीले बझाङदेखि त्यति खर्च गरेर शेर्माथान ल्याइसक्दा पनि भक्तपुरको इँटा बराबरको मूल्य मात्रै परेको छ,’ गोपालले भने, ‘यदि हाम्रै ठाँउमा सजिलै उत्पादन हुने गाँजा प्रयोग गर्न पाए, सित्तैमा हुन्थ्यो।’

गाँजाको डाँठका टुक्रामा घोल्ने १६ टन चुना भने भारतबाट ल्याइएको हो। नेपालमा पाइने चुनामा मिसावट भएको फेला परेपछि त्यसबाट सोचे जस्तो फाइदा नहुने भएको र भारतबाट राम्रो चुना झिकाइएको उनले बताए।

नेपालका अधिकांश ठाउँमा गाँजा आफैं उम्रिन्छ। यसको भरपूर उपयोग गर्न सके कम लागतमै आवास निर्माण गर्न सकिने गोपालको धारणा छ। चैत-वैसाख गाँजा खेती गर्ने उपयुक्त समय हो। बढीमा सात महिनामै यो प्रयोग गर्न सकिने गरी उत्पादन हुन्छ। एक रोपनी जग्गामा गाँजा खेती गर्ने हो भने त्यसबाट लागुपदार्थजन्य मानिएका सामग्री हटाएर एउटा घर बनाउन आवश्यक डाँठ उत्पादन हुन्छ।
यसमा लागत नपर्ने हुनाले केही चुना मात्रै किनेर घर निर्माणमा प्रयोग गर्न सकिन्छ। गाँजाको डाँठ मिसाएर बनाइएको घर सिमेन्टको भन्दा बढी टिक्ने गोपालले बताए। घरको आयू धेरै हुनुमा चुना सिमेन्टभन्दा टिकाउ हुनु पनि हो। सोही चुनाले डाँठको आयू पनि बढाउँछ।
सस्तो र टिकाउ हुनुका साथै यस्तो घर कार्बन न्यूनिकरणमा पनि सहयोगी हुने गोपालको दाबी छ। गाँजाका बोटले वातावरणमा भएको कार्बन सोसेर जमिनमा फ्याँक्ने हुनाले यसले कार्बन घटाउने उनले बताए।

वनस्पतिबाट बनेको भए पनि यो घर आगलागीबाट सुरक्षित हुने उनी बताउँछन्। कुखुरा पोल्न मासुपसलले प्रयोग गर्ने ग्यास लाइटरले निरन्तर आधा घण्टा पोल्दा पनि कुनै असर नपरेको गोपालले बताए।
यो घरको अर्को विशेषता, यसले ‘इन्सुलेसन’को काम समेत गर्छ। उनका अनुसार बाहिर हिँउ परिरहने ठाँउमा समेत यो घरभित्र सामान्य कपडा लगाएर बस्न सकिन्छ। चिसो हुँदैन। एक त, यस्ता घर बाक्लो भित्ता हुनेगरी बनाइएको हुन्छ। अर्को यो आफैं न्यानो हुन्छ। त्यसकारण दम, वाथजस्ता रोग लागेका मान्छेलाई यो घर उपयुक्त हुने उनी बताउँछन्। त्यस्ता रोगीलाई सिमेन्ट घरको केमिकलले पनि असर गर्छ। गाँजाबाट बनेको घरमा कुनै रासायनिक पदार्थ नहुने भएकोले यो ज्यादै उपयोगी हुने गोपालको भनाइ छ।
उनले यो घर व्यवसायिक प्रयोजन निम्ति बनाएका हुन्। तीन तलामा होमस्टे हुनेछ। चौथो तला उनी आफैंले प्रयोग गर्ने भएका छन्। भुइँतला र चौथो तला निर्माण सकिएको छ। नौवटा कोठा बस्न तयार भइसके। बिहीबार नै सो घरमा बस्न ३० जना नेपाली पाहुना आउन लागेको गोपालले बताए। बाँकी दुई तला पनि वैशाख १५ सम्म बनाइसक्ने उनको योजना छ। यो क्षेत्रको पर्यटकीय सिजन अक्टोबरसम्ममा होमस्टे रुपमा विकास गरिसक्ने उनको लक्ष्य छ।

दुई करोड पचास लाखभन्दा बढी लगानीमा बनेको घरलाई उनले व्यवसायिक रुप दिन लागेका हुन्।
गाँजाका डाँठबाट घर बनाउने प्रविधि विशेषगरी पोर्चुगलमा फैलिएको छ। एसियाका केही मुलुकमा पनि यो देखिँदै आएको छ। तर यति ठूलो आकारमा गाँजाका डाँठबाट बनेको यो नेपालकै पहिलो घर भएको गोपालको दाबी छ। जनकपुर लगायत ठाँउमा दुई कोठाका एकतले घर बनिसकेका उनले जानकारी दिए।
सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा अझै पनि धेरै घर पुनर्निर्माण हुन बाँकी छ। सरकारले तीन लाख अनुदान दिने भए पनि ढुवानी समस्याका कारण धेरै घर बन्न सकेका छैनन्। सरकार वा गाँउपालिकाले आफ्नै रोहवरमा गाँजा खेती गराएर लागुपदार्थ मानिने पदार्थ हटाइ डाँठबाट घर बनाउन दिनुपर्ने शेर्पाको धारणा छ।
एक रोपनी जग्गामा गरेको खेतीले एउटा घर बन्न पुग्ने गाँजा उत्पादन हुन्छ। यसले घर बनाउने लागत धेरै कम हुन्छ। साथै गाँजाको बिउ पनि लागुपदार्थ नभएको र यसको अचार स्वादिलो र स्वास्थ्यका लागि समेत उपयोगी हुने उनले बताए।
गाँजाको यस्तो डाँठबाट बन्ने कागज पनि गुणस्तरीय हुने उनले बताए। साथै झोला, टिसर्ट जस्ता सामग्री बनाउने तीन दर्जन जति कम्पनी खुलिसकेको भन्दै गोपालले कटनमा गाँजाका रेसा मिसाएर बनेको कपडा वर्षौं टिक्ने दाबी गरे।
विश्वमा विस्तारै गाँजा प्रतिबन्ध फुकुवा भइरहँदा नेपालमा पनि यसले वैधानिकता पाउनुपर्ने र व्यवसायिक हिसाबले अगाडि बढ्नुपर्ने उनी बताउँछन्।’प्रतिबन्ध लगाएर झनै समस्या हुन्छ। बरु नियन्त्रण र निगरानीसाथ उपयोग गरिनुपर्छ,’ उनले भने। साभार ः सेतोपाटि

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *