राजमार्ग सुचारुको पहल होस्

सेयर गर्नुहोस्

बाढीका कारण साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । तीनअघि बुढीनन्द नदीमा आएको बाढीले जंगाडा भन्ने ठाउँमा बेलिब्रिज बगाएको छ । सडक क्षेत्र बाढीले बगाएको छ ।  बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पु¥याउनुका साथै बाढीमा एक जना बगेर बेपत्ता भए ।  नदीले जडांगा भन्ने स्थानमा बनाइएको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइ दिएको छ । सडक भत्किएसँगै बाजुरा सडक सञ्जालबाट विच्छेद भएको छ ।

कालोपत्रे सडक पुरै बाढीले बगाएको छ । दुई पांग्रे सवारी साधन पनि चल्नसक्ने अवस्था छैन । बाजुरामा अन्य ठाउँमा पनि बाढीले क्षति गरेको छ । केही झोलुङ्गे पुल पनि बगाएको छ । बढीमालिका नगरपालिका–२, घाँघरमा बाढीले करिब दर्जन घर बगाएको विवरण जिल्ला प्रशासन कार्यालयसँग छ । यातायात ठप्प भएपछि स्थानीयबासिन्दालाई समस्या भएको छ ।

बाजुरामा मात्र होइन, बझाङमा पनि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक बाढीले बगाएपछि राजमार्ग अनिश्चितकालका लागि अवरुद्ध भएको छ । राजमार्ग भत्किँदा सवारी साधन सञ्चालन हुन सकेका छैनन् । अविरल वर्षाले सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्गको २५ मिटर सडक बगाएको छ ।

राजमार्गको मटेला तमैल खण्डको जालिबगर भन्ने ठाउँमा पक्की सडक बाढीले बगाएको पछि राजमार्ग अनिश्चितकालका लागि बन्द भएको हो । सडकको सुरक्षाका लागि बनाइएको तटबन्ध पनि बाढीले बगाएको छ । सडक बाढीले बगाएपछि बझाङ सदरमुकाम चैनपुरलगायत क्षेत्र सडक सञ्जालको सम्पर्कबाट टुटेका छन् । सडक भत्किएकाले यातायातका साधनहरु तत्काल सञ्चालन हुने अवस्था देखिदैन । सडक मर्मत गर्नै समय लाग्ने देखिएको छ । यातायात सञ्चालन नभएपछि सर्वसाधारण नागरिक समस्यामा परेका छन् नै सामान ढुवानीसमेत अवरुद्ध भएको छ ।

कैलालीमा पनि भजनी क्षेत्रमा हुलाकी राजमार्ग ठाउँठाउँमा भत्किएर अवरुद्ध भएको छ । सडक सञ्जाल विच्छेद भएकाले दुर्गम पहाडी जिल्ला बाजुरा र बझाङमा दैनिक उपभोग्य सामानको ढुवानी पनि रोकिएको छ । यसले पहाडी जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव हुने, मूल्य वृद्धि हुने संभावना देखिएको छ ।  

दुवै जिल्लामा सडक सञ्जाल विच्छेद भएपछि दैनिक उपभोग्य बस्तुहरु, निर्माण सामग्रीलगायत ढुवानी गर्न समस्या भएको छ भने आपतकालीन अवस्थाका बिरामी उपचारका लागि जिल्ला बाहिर लैजान समस्या भएको छ । त्यसैले अवरुद्ध राजमार्ग सुचारुका लागि स्थानीय तहसँगै प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्छ ।

सडक मर्मत गर्नै नसकिने गरी भत्किएकाले नयाँ निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने देखिन्छ । सडक सञ्जाल विच्छेद हुँदा नागरिकहरु समस्यामा परेकाले सुचारु गर्नका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

(Visited 62 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *