टाइटानिक डुबेको ११० वर्षपछि पनि यी चार रहस्य कायमै

सेयर गर्नुहोस्

आजभन्दा ठिक ११० वर्ष अघि रातको समयमा टाइटानिक एउटा हिमखण्डसँग ठोक्किएको थियो । त्यतिबेला अधिकांश यात्री गहिरो निद्रामा थिए ।

दुर्घटनाका बेला टाइटानिक ४१ किलोमिटर प्रतिघण्टाको गतीमा बेलायतको साउथम्पेटनबाट अमेरिकाको न्युयोर्कतर्फ बढिरहेको थियो र तीन घण्टाभित्र १४ र १५ अप्रिल, सन् १९१२ का मध्यराती टाइटानिक अटलान्टिक महासागरमा समाहित भयो ।

जुन जहाज कहिल्यै डुब्दैन भनेर सर्वत्र चर्चा थियो, त्यो डुब्यो । दुर्घटनामा लगभग १५ सय व्यक्ति मारिएका थिए । ११० वर्ष बितिसकेपछि पनि यसलाई सबैभन्दा ठूलो समुद्री दुर्घटना मानिन्छ ।
घटनास्थलबाट अवशेषलाई सेप्टेम्बर सन् १९८५ मा हटाइएको थियो । दुर्घटनापछि क्यानडाबाट ६५० किलोमिटर टाढा ३,८४३ मिटरको गहिराइमा जहाज दुई भागमा टुटेको थियो र दुई हिस्सा एक अर्काबाट ८ सय मिटर टाढा भएका थिए ।
यो दुर्घटनाको ११० वर्षपछि आज पनि यो दुर्घटनाको विषयमा रहस्य बनेको छ । बीबीसी ब्राजिलले केही विशेषज्ञसँग कुरा गरेर यिनै रहस्यको जवाफ खोज्ने कोसिस गरेको छ ।

१. ‘यो जहाज डुब्न सक्दैनथ्यो’

विशाल जहाज ‘डुब्न सक्दैन, भगवानले पनि यसलाई डुबाउन सक्दैनन्’ भनिएको थियो । यस्तो भन्नुमा केही कारण पनि छन् ।
रियो डि जेनेरियोकी फेडरल युनिभर्सिटी डिपार्टमेन्ट अफ नेवल एन्ड ओसन इन्जिनियरिङ विभागका प्राध्यापक तथा इन्जिनियर अलक्जेन्डर द पिन्हो अल्होले भने, ‘इन्जिनियरिङको हिसाबले हेर्ने हो भने यो डिजाइनको आधारमा विकसित पहिलो जहाज थियो । जहाजमा थुप्रै वाटर टाइट कम्पार्टमेन्ट बनाइएको थियो । अर्थात् यदि जहाजको कुनै कोठा पानीले भरियो भने अर्को कोठामा पानी पस्न पाउँदैनथ्यो ।’

यो जहाज बनाउन केही समस्या पनि भएको थियो । बिजुलीको तार र पानीको पाइपले राम्रोसँग काम गरोस् भन्नका लागि जहाजको उचाई कति राख्ने भन्नेलगायतका कुरामा अत्यधिक सोच विचार गरिएको थियो ।

प्राध्यापक अल्हो भन्छन्, ‘यसमाथि सोच विचार गरेपछि उनीहरुले जहाजको उचाइ निर्धारण गरेका थिए । पानी भरिइ हाले पनि त्यो छतको उचाइसम्म पुग्न नसक्ने अनुमान गरिएको थियो । उनीहरुले छतमा पनि सुरक्षित कम्पार्टमेन्ट्स बनाएका थिए ।’

तर त्यतिबेला कसैले पनि हिमखण्डसँग जोडदार ठक्करबारे सोचेका थिएनन् होला ।

प्राध्यापक अल्होले भने, ‘ठक्कर यति जोडदार थियो कि जहाजको मुख्य बडीको आधा लम्बाईसम्म छेडिएको थियो । यस्तो परिस्थितिमा पानी छतसम्म पुगेको थियो ।’

‘जहाजमा सबैतिर पानी भरिन थालेको थियो । यस्तो स्थितिमा बच्ने सम्भावना निकै कम हुन्छ । तपाईं पानी निकाल्नका लागि सबै पम्पलाई सक्रिय बनाउन सक्नु होला, विभिन्न कोसिस गर्न सक्नुहुन्छ होला तर पानी जुन गतिमा भित्र आइरहेको हुन्छ त्यहि गतिमा बाहिर निकाल्न सकिँदैन ।’

जहाज बनाउने र नेभिगेटर सिभिल इन्जिनियर थियेरी भन्छन्, ‘टाइटानिक कहिल्यै डुब्न सक्दैन भनेर प्रचार गरिएको थियो । यस्तो भन्नुको पछाडि मुख्य कारण यो थियो कि यहाँ थुप्रै बेसमेन्ट बनाइएका थिए जुन वाटर टाइट भित्ताबाट बनेका थिए । बेसमेन्टका दुई पंक्तिहरु पानीले भरिए पनि जहाज डुब्नेवाला थिएन । तर हिमखण्डसँग ठक्कर हुँदा जहाजलाई अत्यधिक क्षती पुग्यो र वाटरटाइट बेसमेन्टका थुप्रै भित्ताहरु नष्ट भएका थिए ।’

फ्लूमिनेन्से फेडरल युनिभर्सिटीका प्राध्यापक तथा ट्रान्सपोर्ट इन्जिनियर ओरिलो सोरास मूर्ता भन्छन्, ‘टाइटानिकको वाटर टाइट बेसमेन्ट बन्द गर्ने व्यवस्थाले पनि राम्रोसँग काम गरिरहेको थिएन ।’

त्यतिबेला जहाज बनाउन प्रयोग हुने धातु हालको स्टिलजस्तो बलियो पनि थिएन ।

सोरास मूर्ताले भनिन्, ‘जोडदार ठक्करपछि जहाजको ढाँचामा पनि परिवर्तन आएको थियो । ढोका बन्द हुन सकिरहेका थिएनन्, ती अड्किएका थिए । त्यतिबेला पनि टाइटानिक शुद्ध स्टिलले बनाइएके थियो तर त्यतिबेलाको स्टिल अहिलेको जति बलियो हुँदैनथ्यो ।’

साओ पाओलोका म्याकेन्जी पेर्सेबायटेरियन युनिभर्सिटीका प्रध्यापक र धातु विज्ञानका इन्जिनियर जान वेतावुक भन्छन्, ‘सन् १९४० को दशकसम्म समुद्री जहाजको मुख्य बडी धातुको पाताबाट बन्ने गर्दथे ।’

यद्यपि, पछि यी जहाजको मुख्य बढी बनाउन धातुलाई पगालेर प्रयोग गर्न थालियो ।

वेतावुक भन्छन्, ‘त्यतिबेलादेखि अहिलेसम्म प्रविधि र सामग्री निकै फेरिएको छ । अब धातुलाई पगालेर पातालाई जोडिन्छ । स्टिल बनाउन पनि कार्बनको प्रयोग कम हुन थाल्यो र म्यागनिजको प्रयोग बढ्न थालेका छन् । आजका स्टिल असाध्यै धेरै बलिया हुन्छन् ।’

वैतावुकका अनुसार आजका समुद्री जहाज पानी, समुद्री लहरको उतार चढाव र समुद्री आँधीसँग तालमेल मिलाउन धेरै नै सक्षम छन् ।

टाइटानिक जहाजभित्र बनाइएको जिम

२. ‘ब्लू ब्यान्ड’ हासिल गर्ने होडः

ठूलो दुर्घटनापछि, त्यसका कारणमा सधैँ मानवीय गल्ती पाइन्छ नै ।

विशेषज्ञका अनुसार हिमखण्डले भरिएका इलाकाबाट यात्रा गर्न मुश्किलका बीच त्यहाँ छिटो यात्रा गर्न अत्यधिक दबाब पनि थियो ।

वास्तवमा यो दबाब ‘ब्ल्यू ब्यान्ड’ लाई हासिल गर्नु थियो । सन् १८३९ मा सुुरु भएको यो सम्मान एटलान्टिक महासागरलाई सबैभन्दा तीब्र गतिमा पार गर्ने जहाजले पाउँथ्यो । टाइटानिकलाई यो सम्मानको सबैभन्दा जोडदार दाबेदार मानिएको थियो ।

प्राध्यापक अल्होले भने, ‘त्यतिबेलाको हिसाबले टाइटानिक बनाउन सबैभन्दा उत्कृष्ट इन्जिनियरिङ र प्रविधिको प्रयोग गरिएको थियो । त्यतिबेला समुद्री जहाज बनाउनका लागि संसारका ठूला कम्पनीबीच होडबाजी थियो । बेलायत र जर्मनीबीच त्यतिबेला सबैभन्दा लामो र तीब्र गतिमा चल्ने जहाज बनाउने होड थियो ।’

सबैभन्दा विशाल र तीब्र गतिका जहाजले आधिकारिक रुपमा ब्ल्यू ब्यान्ड पाउँथ्यो । कुनै पनि जहाजका लागि यो उपलब्धि हासिल गर्नका लागि पहिलो यात्रा सबैभन्दा महत्वपूर्ण मानिन्थ्यो ।

अल्हो भन्छन्, ‘पहिलो यात्राका बेला जहाजको स्थिति सबैभन्दा उत्कृष्ट हुन्छ । पहिलो यात्रामा जहाजले सबैभन्दा तीब्र गति हासिल गर्न सक्छ र टाइटानिकले पनि तीब्र गति हासिल गर्ने कोसिस गरेको थियो ।’

उक्त दुर्घटनामा जो बाँचे तीमध्ये कतिले दिएको जानकारी अनुसार जहाजका क्याप्टेनले बाटोमा आसपासका इलाकामा हिमखण्ड भएको सूचना पाएका थिए तर उनले जहाजको गतिलाई काम गरेनन् किनभने एट्लान्टिक महासागरलाई सबैभन्दा तीब्र गतिले पार गर्ने लक्ष्य हासिल गर्न उनी चाहन्थे ।

टाइटानिक जत्रै मानिने जहाज आरएमएस ओलम्पिकको हलमा देखिएको त्रुटी

३. टाइटानिक एक्लो थिएनः

टाइटानिक एक्लो थिएन । यो जहाज चलाउने कम्पनी ह्वाइट स्टार लाइन कम्पनीले २० औँ शताब्दिको सुरुवातमा बेलफास्ट शहरको हारल्याण्ड र वोल्फ शिपयार्डका तीन जहाज तयार गर्न अर्डर दिएको थियो ।

विश्वस्तरीय डिजाइन टिमद्वारा निर्मित यी तीन जहाज दुनियाँको सबैभन्दा लामो, सुरक्षित र सुविधाले युक्त हुने आशा गरिँदै थियो । इन्जिनियर स्टम्पले भने, ‘यी परियोजनालाई त्यतिबेला असाध्यै प्रचारित गरिएको पनि थियो ।’

सन् १९०८ देखि १९१५ बीच निर्मित यी जहाजलाई ओलम्पिक क्लासको जहाज भनिएको थियो । पहिलो दुई जहाज तयार गर्ने काम सुरु भएको थियो, सन् १९०८ मा ओलम्पिक र सन् १९०९ मा टाइटानिक थियो । तेस्रो जहाज जाइगेन्टिकको उत्पादन सन् १९११ मा सुरु गरियो ।

यद्यपि, तीनै जहाज कुनै न कुनै दुर्घटनाको शिकार भए । ओलम्पिक जहाजको सेवा जून सन् १९११ मा सुरु भएको थियो, त्यसै वर्ष यो एउटा युद्धपोतसँग ठोक्किएको थियो । मर्मतपछि यसको सेवा पुनः सुरु भयो ।

पहिलो विश्वयुद्ध ताका, बेलायती नौसेनाले यसको प्रयोग सैनिकलाई एक स्थानबाट अर्को स्थानमा पुर्याउनका लागि गरेका थिए । सन् १९१८ मा यो एउटा जर्मनी पनडुब्बीसँग ठोक्किएको थियो । मर्मतपछि सन् १९२० देखि पुनः यसको प्रयोग सुरु भयो । पुरानो र विश्वासयोग्य मानिने यो जहाजको प्रयोग सन् १९३५ सम्म गरियो ।

टाइटानिकले आफ्नो पहिलो यात्रा १० अप्रिल, सन् १९१२ देखि सुरु गरेको थियो । साउथम्पेटन बन्दरगाह बाहिर यो अर्को एउटा जहाजसँग झण्डै ठोक्किएको थियो । १४ अप्रिलाम यो ऐतिहासिक दुर्घटनाको शिकार भयो ।

जाइगेन्टिक पनि खासै धेरै प्रयोगमा आएन । यसको नाम फेरेर ब्रिटानिक गरियो । ब्रिटिश नौसेनाले यसअघि विश्वयुद्धका बेला अस्पतालको रुपमा परिवर्तन गरेको थियो । यो जहाज नोभेम्बर सन् १९१६ मा डुबेको थियो ।

आफ्नो जमानामा यी तीनै जहाज अत्यधिक विशाल थिए तर आजको तुलनामा यी निकै साना जहाज भनिन्छन् ।

मूर्ता भन्छन्, ‘आजका जहाजको तुलनामा ती डुङ्गा जत्तिका थिए ।’

टाइटानिकको लम्बाई २६९ मिटर थियो । चालक दल र यात्रीसहित यसमा करिब ३३०० जना बस्ने सुविधा थियो । आजको सबैभन्दा ठूला समुद्री यात्रीको जहाज ‘वन्डर अफ द सी’ हाmे जुन ३६२ मिटर लामो छ र यो जहाजमा चालक दलका २३०० सदस्यका साथै सात हजार यात्री यात्रा गर्न सक्छन् ।

यत्तिका मृत्युको कारण के थियो ?

टाइटानिक दुर्घटनामा करिब १५ सय यात्रीको मृत्यु भएको थियो । त्यसपछि समुद्री जहाजको सुरक्षा व्यवस्थालाई उत्कृष्ट बनाउने कोसिस सुरु भयो । समुद्री जहाजको सुरक्षाका लागि यो दुर्घटनापछि रडारजस्ता उपकरणको प्रयोग सुरु गरियो ।

प्राध्यापक अल्हो भन्छन्, ‘दोस्रो विश्वयुद्धपछि नै रडारको प्रयोग सुरु भएको थियो । यसअघि सबैकुरा हेराइमा नै निर्भर थियो । एक जलसैनिकलाई अग्लो ठाउँमा बसालिन्थ्यो जहाँबाट उनले अगाडि भएका हिमखण्डलगायत बाधा अड्चन देख्न सक्थे । यही तरिका थियो, जहाज तीब्र गतिमा चल्दा यो सुरक्षित थिएन ।’

टाइटानिक दुर्घटनाको सुरक्षाको प्रावधानमाथि जोड दिइयो । टाइटानिक दुर्घटनामा धेरैको मृत्यु हुनुको कारण उनीहरुसँग लाइफ बोट थिएनन् ।

प्राध्यापक अल्हो भन्छन्, ‘यो जहाज कहिल्यै डुब्न सक्दैन, यो धारणाका कारण जहाजमा आधा मात्रै लाइफबोट राखिएका थिए ।’

यस्तै मूर्ताले भने, ‘समुद्री जहाजको सुरक्षाको हिसाबले यो दुर्घटना एक महत्वपूर्ण पाटो साबित भयो । समुद्री जहाजको सुरक्षाको विषयमा संस्थागत ढाँचा बनाइयो, निर्माणका बेला सुरक्षा मापदण्डलाई उच्च प्राथमिकता दिइयो । यसलाई लगातार उत्कृष्ट गर्ने योजनामा काम गरियो । ’

‘आजको समयमा रडार र सोनारले निकै अघि हिमखण्डबारे पत्ता लगाउँछन् । आज समुद्री यात्राका बेला समुद्र म्यापिङ वा समुद्री यात्राको चार्ट अत्यधिक आधुनिक भइसकेका छन् ।’
बीबीसी

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *