स्थानीय तहमा हुनसक्छ एमाले–माओवादी गठबन्धन !

सेयर गर्नुहोस्

केशवराज जोशी
काठमाडौं
। ०७४ सालको स्थानीय तह निर्वाचनमा डडेलधुराको परशुराम नगरपालिकामा चार हजार ६२९ मत ल्याएर नेपाली कांग्रेसका भीमबहादुर साउद मेयरमा विजयी भए । डडेलधुरामा भित्री मधेस क्षेत्रमा पर्नेमा सो नगरपालिकामा कांग्रेसले जित दर्ता गर्दा नेकपा (माओवादी केन्द्र)का शेरबहादुर मालले चार हजार ४८ मत पाएका थिए ।

माओवादी उमेदवारसँग विजयी साउदको मतान्तर ५८१ मात्र थियो । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का तारासिंह बोहराले दुई हजार ९४१ मत ल्याए ।

परशुराममा एक्लाएक्लै निर्वाचनमा जाँदा पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर, एमाले, कांग्रेस र माओवादीमध्ये जुनसुकै दुई पार्टीको गठबन्धन भए पनि एक पार्टीले टक्कर दिने सम्भावना कम देखिन्छ । डडेलधुरामा निर्वाचनमा कसरी जाने भन्नेबारे जिल्लाका नेताहरू आन्तरिक र अनौपचारिक छलफलमा छन् ।

परशुराममा अहिले मेयरमा माओवादीको दाबी छ । कांग्रेस नमाने उसलाई पराजित गर्न डडेलधुरामा एमाले–माओवादी गठबन्धन हुन सक्ने माओवादीका एक जिल्ला नेताले बताए ।

ती नेताले भने, “धेरैजसो पालिकामा हामी बलियो मतका साथ दोस्रो स्थानमा छौँ । कांग्रेस सहकार्यमा लचिलो नहुने हो भने हामी जित्ने गरी समीकरण बनाउँछौँ । त्यसका लागि एमाले र हाम्राबीचमा समझदारी बन्नसक्छ । यो स्थानीय चुनाव हो । स्थानीयस्तरमा हामी निर्णय गर्न सक्छौँ ।”

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर कुनै पनि हालतमा अरू दलसँग मिलेर चुनावमा नजाने बताइरहेका छन् । उनका अनुसार कांग्रेस एक्लै निर्वाचनमा पहिलो दल बन्छ । यही कुरा माओवादीका नेता–कार्यकर्तालाई मन परेको छैन ।

डडेलधुरामा मात्रै होइन, कञ्चनपुरमा पनि स्थानीय तहमा एमाले–माओवादीबीच अनौपचारिक छलफल अगाडि बढेको छ । एक्लै निर्वाचनमा जाँदा हारिने सम्भावना देखेको माओवादीले कांग्रेससँग लेनदेनमा चित्त नबुझे एमालेसँग सहकार्यको हात बढाउन सक्ने सम्भावना छ । कञ्चनपुरमा जिल्ला र नगर पार्टीका नेताहरू अनौपचारिक छलफलमा सक्रिय छन् ।

भीमदत्तनगर नगरपालिकाका एक माओवादी नेता भन्छन्, “केन्द्रको निर्णय पर्खेका छौँ । तर, कांग्रेसले पेल्न खोजेको छ । यस्तोमा हामी जता गएर बढी सिट जित्छौँ, त्यहाँ जान सक्छौँ । एमालेले पनि मिलेर जाऔँ भनेर प्रस्ताव गरेको छ ।”

०७४ मा सुदूरपश्चिम प्रदेशका ८८ मध्ये १० स्थानीय तहमा मात्रै माओवादी विजयी भएको थियो । तर, अरू पार्टीसँगको सहकार्यमा माओवादी हरेकजसो स्थानीय तहमा निर्णायक शक्तिका रूपमा देखिएको छ ।

डडेलधुरा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ ।

प्रधानमन्त्री देउवालाई केन्द्रमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले साथ दिइरहेका छन् । कांग्रेसले आउँदो निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्र पनि तालमेल गरेरै निर्वाचनमा जाने रणनीतिमा छ ।

केन्द्रमा पनि नेताहरूबीच तालमेलका विषयमा भिन्न–भिन्न मत छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा गठबन्धन कायमै रहने बताइरहेका छन् । तर, कांग्रेसका महामन्त्री गगन थापासहित नेता शेखर कोइराला समूह गठबन्धन गर्न नहुने पक्षमा देखिएको छ । यसले तालमेलका विषयमा माओवादी ढुक्क अवस्थामा छैन ।

एमालेले पनि निर्वाचन जित्ने गरी रणनीति बनाइरहेको छ । पार्टी विभाजन भएको अवस्थामा माओवादीको साथ पाए सहज हुने बुझाइ एमाले नेताहरूको छ ।

केही समय एमाले–माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । सो समयमा एमाले र माओवादी नेता–कार्यकर्ताबीच सहकार्य भएकाले मिलेर जान अप्ठ्यारो नहुने नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका एक केन्द्रीय नेताले भने, “कांग्रेसकै कारण गठबन्धनको सम्भावना हामीले कम देखिरहेका छौँ । हामीलाई कमजोर छ भनेर पेल्नै खोजेपछि हामी पनि अर्को बाटो रोज्छौँ । चुनाव जित्ने हो । बढीमा पार्टीले कारबाही गर्ने हो । सिंगो पार्टी नै एक ठाउँमा उभिएपछि कारबाहीको औचित्य पनि के होला र ? हामी जोसँग मिलेर बढी जितिन्छ, त्यसरी नै सोच्छौँ ।”

(Visited 109 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *