आमा बेपत्ता, वुबाको मृत्यु, तीन बालकको विचल्ली

सेयर गर्नुहोस्

डाेटी : लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ।

पचपन्न वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको थियो। बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन भएकी छिन्। बुवाको मृत्यु भएसँगै घरमा रेखदेख तथा हेरचाह गर्ने कुनै पनि अभिभावक नभएका कारण उनका तीन छोरा नौ वर्षीय लक्ष्मण खाती, दुई वर्षीय कृष्ण खाती र चार वर्षीय गणेश खातीको विचल्ली भएको छ।

अभिभावकविहीन बालकलाई सहयोग गरिदिन स्थानीयवासीले सबैमा आग्रह गरेका छन्। आमाबुवाविहीन भएका ती बालकलाई हिजो आज घरमा खाना दिनेसमेत मान्छे नभएका कारण निकै समस्या उत्पन्न भएको छ। वर्षातको झरीमा खरले छाएको चुहिने सानो झुपडी घरमा खानेकुरो नहुँदा उनीहरु कयौँ दिन भोकै बस्न बाध्य भएका छन्। सहाराविहीन बनेका ती बालकलाई अहिलेसम्म कसैले पनि सहयोग तथा स्याहार नगरेका कारण झनै समस्या हुँदै आएको सायल गाउँपालिका–६ का स्थानीयवासी रमेशबहादुर थापाले बताउँछन्।

उनले भने, “तीन जना साना बालक एक्लै घरमा बस्छन्, उनीहरुलाई खानेकुरो दिने मान्छे पनि छैनन, कस्तो बिजोक भएको छ ।” घरमा रहेको अन्नपात पकाएर खान सक्ने अवस्था नभएका कारण पनि उनीहरुलाई समस्या हुन थालेको थापाले बताए।

श्रीमानको मृत्यु भएको केही महिनामा नै छिमेकी मुलुक भारतको उडिसा शहरमा माइती भएकी आमा गोमा खाती नाबालक छोराहरु छोडेर उतै सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन्। आमा बुवाविहीन भएका नौ वर्षका लक्ष्मण खातीले आफ्ना दुई भाइलाई रेखदेखको गरिरहेका छन्।

घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुँदा बालबालिकालाई दैनिक छाक टार्नसमेत समस्या हुने गरेको छ। आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई निकै हम्मे हम्मे परेको छ। गाउँमा नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने तथा डराउने अवस्थाका लक्ष्मण खातीले छिमेकीसँगै मागेर भए पनि छाक टार्नु परेको छ।”

अभिभावकविहीन भएका ती बालकहरुको उचित लालनपालनका लागि गाउँपालिकाबाट आवश्यक पहल गरिने सायल गाउँपालिकाका उपाध्यक्ष विष्नादेवी सिंहले बताइन्।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *