सुदूरपश्चिममा ओरालो लाग्यो कोरोना सङ्क्रमण दर

सेयर गर्नुहोस्

अविनाश चौधरी
धनगढी। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो प्रदेशमा माघ १० गते कोरोना सङ्क्रमण दर उच्च देखिएको थियो । त्यो दिन प्रदेशभरि एक हजार ५४७ जनाको परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भई सङ्क्रमण दर ३५.५५ प्रतिशत पुगेको थियो ।
यसैगरी, सङ्क्रमित हुनेको सङ्ख्या भने सबैभन्दा बढी माघ ११ गते थियो । सो दिन एक हजार ९७३ जनाको परीक्षण गर्दा ६५२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यद्यपि सङ्क्रमण दर भने ३३.३८ प्रतिशत थियो ।
यस्तै, माघ १२ गते सङ्क्रमण ३३.१७ प्रतिशत, १३ गते २९.१६ प्रतिशत, १४ गते २८.७ प्रतिशत र माघ १५ गते सङ्क्रमण दर २३ प्रतिशतमा झरेको छ । माघ १२ देखि १५ गतेसम्म क्रमशः ६१४, ५५८, ४८६ र २६९ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । ती दिनमा क्रमशः एक हजार ८५०, एक हजार ९१३, एक हजार ६९३ र एक हजार १६९ जनाको परीक्षण गरिएको थियो ।
प्रदेशको यो तथ्याङ्कले सङ्क्रमण दर विस्तारै ओरालो लागेको पुष्टि गरेको छ । कैलालीमा भने परीक्षण सङ्ख्या घटेको तर सङ्क्रमित दर पहिलेकोजस्तै रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
यहाँ अझै पनि पोजिटिभिटी दर ६० देखि ६५ प्रतिशत रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । कैलालीको हकमा यो अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण हुनेगरेको छ । ‘कैलालीमा सङ्क्रमण दर घटेको होइन, परीक्षण सङ्ख्या मात्रै घटेको हो’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो । ‘अझै पोजेटिभ आउने दर कम भइसकेको छैन ।’
पछिल्लो सयम पीसीआर चेकजाँचको शुल्क लिने व्यवस्था भए्पछि परीक्षण सङ्ख्या घटेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । ‘लक्षण नभएका तर, स्वेच्छिक रुपमा चेकजाँच गराउने व्यक्तिको ८०० रुपियाँ शुल्क तोकिएको छ’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो । ‘शुल्क लिन थालेपछि परीक्षण गराउनेको सङ्ख्या घटेको हो ।’ लक्षण देखिएका बिरामीहरुको भने निःशुल्क परीक्षण हुनेगरेको श्रेष्ठले बताउनुभयो ।
सेती प्रादेशिक अस्पतालको आइसीयुमा पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितलाई भर्ना गरिएको छ । अहिले अस्पतालमा १८ जना सङ्क्रमित उपचाररत छन् । जसमध्ये ६ जनालाई आइसीयु र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा अस्पतालबाट चार जना बिरामी निको भएर घर फर्केका छन् ।

(Visited 65 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *