अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय

सेयर गर्नुहोस्

सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ ।

नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजाबाहकले गर्नेछन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबार र एयर इण्डियाले सोमबार गर्नेछन् ।

यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मङ्गलबार र बिहीबार तथा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतबार, मङ्गलबार र बिहीबार उडान भर्नेछन् । फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एकरएक उडान गर्नेछ ।

क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमबार, बुधबार र शनिबार उडान अनुमति दिइएको छ । उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधबार र शनिबार सातामा दुई उडान पाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार उडान गर्नेछ ।

जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमबार, मङ्गलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने तालिका छ । एयर अरेबियाले आबुधाबीमा आइतबार र मङ्गलबारको उडान तालिका पाएको छ । सिङ्गापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ ।

(Visited 79 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *