रोनाल्डो : १०९ गोल यात्रा

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले खेल जीवनको अर्को एक महत्वपूर्ण आँकडा पूरा गर्न सफल भएका छन् । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा आएका छन्, उनले इरानका अली दाईको कीर्तिमानमा बराबरी गरेका छनत् ।

युरोकप फुटबल अन्तर्गत समूह एफमा रहेको पोर्चुगलले बुधबार राति भएको खेलमा फ्रान्ससँग २–२ को बराबरी खेल्ने क्रममा रोनाल्डोले पेनाल्टी मार्फत दुई गोल गरे । उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बुधबार राति आफ्नो १०८ औँ र १०९ औँ गोल गरेर कीर्तिमानसँग बराबरी गरेका हुन्।

अली दाईले सन् १९९३ देखि २००६ सम्ममा इरानका लागि १०९ गोल गरेर बनाएको कीर्तिमानमा रोनाल्डोले बराबरी गरेका हुन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ९० वा त्यो भन्दा बढि गोल गर्ने मात्र दुई पुरुष खेलाडी छन् र ती हुन् अली दाई र रोनाल्डो । रोनाल्डो सक्रिय खेलाडी मध्ये सर्वाधिक गोलकर्ता हुन् ।

सर्वकालीन उत्कृष्ट खेलाडी बन्ने मार्गमा उनको यो अर्को कडी हो । उनी क्लब प्रतिस्पर्धाको सर्वाधिक ठूलो प्रतिस्पर्धा युरोपियन कप/च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् ।

रोनाल्डो विश्वकप र युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने युरोपेली खेलाडी पनि बनेका छन् । उनले २० गोल गरेर मिरोस्लाभ क्लोजले बनाएको कीर्तिमान भंग गरेका हुन् । क्लोजले १९ गोल गरेर सो कीर्तिमान बनाएका थिए । रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा गरेको गोल संख्या १३ पुगेको छ ।

रोनाल्डोले युरोपियन च्याम्पियनसिपको छनौट चरणमा ३१, विश्वकपको छनौट चरणमा ३१, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा १९, युरोपियन च्याम्पियनसिपमा १३, विश्वकपमा ७, युइएफए नेशन्स लिगमा पाँच तथा कन्फेडेरेशन कपमा दुई गोल गरेका छन् ।

रोनाल्डोले राष्ट्रिय टिमका लागि गरेका गोल मध्ये झण्डै आधार खेलको अन्तिम ३० मिनेटमा गरेका हुन् । उनले खेलको अन्तिम १५ मिनेटमा ३१ तथा ६१ देखि ७५ मिनेटको बिचमा २२ गोल गरेका छन् । उनले खेलको १६ देखि ३० मिनेटको बिचमा १७ र ३१ देखि ४५ मिनेटको बिचमा १६ गोल गरेका छन् । यस्तै खेल सुरु भएको १५ मिनेट भित्र ११ र दोस्रो हाफको पहिलो १५ मिनेट भित्र १२ गोल गरेका छन् ।

रोनाल्डोले ८९ गोल बक्स भित्रबाट गरेका हुन् भने २० गोल बक्स बाहिरबाट गरिएका छन् । उनले पेनाल्टी मार्फत १४ र फ्रि किक मार्फत ९ गोल गरेका छन् ।

वर्तमान समयको फुटबल प्रतिस्पर्धामा रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीबिच को महान भनेर समर्थकबिच विवाद रहने गरेको छ । अहिलेसम्म रोनाल्डो एक आँकडामा अघि छन् । उनले राष्ट्रिय टिमबाट प्रमुख प्रतिस्पर्धा जितेका छन् ।

रोनाल्डोले सन् २०१६ मा युरोकप फुटबलको उपाधि जितेका थिए, मेस्सी भने अहिलेसम्म राष्ट्रिय टिमबाट प्रमुख प्रतिस्पर्धा जित्नबाट वञ्चित छन् र अहिले उनी कोपा अमेरिका खेलिरहेका छन् ।

रोनाल्डोले १७८ खेलमा राष्ट्रिय टिमका लागि १०९ गोल गरेका छन् भने मेस्सीले अहिलेसम्म १४७ गोलमा अर्जेन्टिनाका लागि ७३ गोल गरेका छन् । ३४ वर्षका मेस्सीले १०० गोलको आँकडा पूरा गर्न २७ गोल चाहिन्छ, जुन आँकडा हाल ३५ वर्षका रोनाल्डोले सन् २०१५ मै पूरा गरेका थिए ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares