माग कम हुँदा विद्युत् आयात घट्यो

काठमाडौँ — निषेधाज्ञाका कारण धेरै कलकारखाना बन्द हुँदा विद्युत्‌को उच्च माग घटेको छ । आन्तरिक उत्पादन बढेको र विद्युत्‌को उच्च माग पनि कम भएका कारण भारतबाट आयात गरिने विद्युत् परिमाण पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शुक्रबार राति विद्युत्को उच्च माग १ हजार २ सय २६ मेगावाटमा झरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । निषेधाज्ञा सुरु हुनुअघि विद्युत्को उच्च माग १ हजार ४ सय ५२ मेगावाटसम्म पुगेको थियो । वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरमा निषेधाज्ञा जारी छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूबाट उत्पादन हुने विद्युत् परिमाण बढेकाले भारतबाट आयात घटेको उनको भनाइ छ ।
शुक्रबारको तथ्यांकअनुसार निजी क्षेत्रका आयोजनाबाट ३ सय ५० मेगावाट विद्युत् उत्पादन भएको छ । प्राधिकरणका आयोजनाबाट ३ सय ९० मेगावाट विद्युत् उत्पादन भएको थियो । निजी क्षेत्रको आयोजनाको जडित क्षमता ७ सय ५० मेगावाट पुगे पनि रन अफ रिभर प्रकृतिका आयोजनाबाट सुक्खायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्न ।

चैत र वैशाखमा आन्तरिक उत्पादन न्यून हुँदा कुलेखानीलाई दैनिक केही घण्टा पूर्ण क्षमतामा चलाइएको थियो । अहिले भने कुलेखानी आयोजना सञ्चालन नगरिएको तिम्सिनाले जानकारी दिए । शुक्रबार भारतबाट ४ सय ८७ मेगावाट विद्युत् आयात गरिएको थियो । निषेधाज्ञाअघिसम्म प्राधिकरणले विद्युत् माग धान्न कुल मागको ६५ प्रतिशतभन्दा बढी विद्युत् ल्याइरहेको थियो । आन्तरिक उत्पादन केही बढेपछि र माग पनि कम भएपछि हाल कुल मागको करिब ४० प्रतिशत हाराहारीमा मात्रै विद्युत् आयात भइरहेको छ । बिहीबार विद्युत्को उच्च माग एक हजार ५२ मेगावाटमा सीमित भएको थियो । काठमाडौं उपत्यकामा मात्रै विद्युत्को उच्च माग करिब २ सय ५० मेगावाट हाराहारीमा छ ।

प्राधिकरणले दैनिक आवश्यक पर्ने विद्युत् भारतको इनर्जी एक्सचेञ्ज मार्केटबाट खरिद गरेर ल्याउन सुरु गरेको छ । प्राधिकरणले मे १ तारिखदेखि भारतको इनर्जी एक्सचेञ्जबाट विद्युत् खरिद सुरु गर्न थालेको हो । भारतमा पनि विद्युत् माग कम भएर भाउ घटेकाले इनर्जी एक्सचेञ्जबाट विद्युत् किन्दा प्राधिकरणलाई सस्तो परिरहेको छ ।

माथिल्लो तामाकोसीसहित केही निजी क्षेत्रका आयोजना चैत–वैशाखसम्म सञ्चालनमा आइसक्ने आकलन गर्दै प्राधिकरणले भारतको एनटीपीसी विद्युत् व्यापार निगमसँग मेदेखि जुनसम्म २ सय मेगावाट मात्रै विद्युत् खरिद गर्ने गरी सम्झौता गरेको थियो । तर ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको पनि सम्पन्न हुने मिति पर धकेलिएपछि चैत–वैशाखमा प्राधिकरणलाई माग धान्न हम्मे परेको थियो । जसकारण कुल खपतको दुईतिहाइ विद्युत् आयात गर्नुपर्ने बाध्यता थियो ।

माथिल्लो तामाकोसीको निर्माण पूरा भएर सुरुङ र पेनस्टक पाइपको परीक्षण सुरु गरिएको छ । तर परीक्षणका क्रममा पेनस्टक पाइपको म्यानहोलमा पानी चुहिने समस्या देखिएपछि अहिले मर्मतको काम जारी छ । आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् जेठ दोस्रो सातासम्म उत्पादन हुने योजना बनाइएको भए पनि अब केही साता पछि धकेलिने भएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रबाट प्रवर्द्धित आयोजना पनि कोभिड–१९ संक्रमण र निषेधाज्ञाका कारण पर धकेलिएका छन् । अहिले म्याग्दीमा निर्माण भइरहेको ४२ मेगावाटको मिस्त्रीखोला आयोजना निर्माणको अन्तिम चरणमा छ । लमजुङको ४९ मेगावाट जडित क्षमता भएको सुपरदोर्दी खोला आयोजना पनि निर्माणको अन्तिम चरणमै छ । ओखलढुंगामा बनेको ५२ मेगावाटको लिखु–४ आयोजना र दोलखाको २५ मेगावाट जडित क्षमता भएको सिंगटीखोला आयोजना निर्माण सकिएर पनि प्रसारण लाइन नबन्दा उत्पादन मितिको पर्खाइमा छन् ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares